
एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेतृ रामकुमारी झाँक्रीको सम्बन्धबारे चर्चा हुँदा धेरैले ९ भदौ २०७८ को एउटा तस्बिर सम्झिन्छन् । जुन दिन एमालेको झण्डै २० प्रतिशत हिस्सा लिएर वरिष्ठ नेता नेपाल पार्टी विभाजन गर्दै थिए । एमालेको अन्तरविरोधमा उनलाई साथ दिने र पार्टी फुटाउन उक्साउने स्थायी कमिटीका १० नेताले उनको साथ छाडिसकेका थिए । पार्टी विभाजनको निर्णयमा पुगे पनि दल विभाजनसम्बन्धी व्यवस्थामा उल्लेखित केन्द्रीय समिति र संसद्का ४० प्रतिशत सदस्य उनको साथमा थिएनन् । त्यसैले प्रधानमन्त्री शेरबहादुर देउवाको साथ लिएर केन्द्रीय समिति वा २० प्रतिशत सांसद सदस्य भए पुग्ने व्यवस्थासहितको अध्यादेश जारी गर्न लगाए ।
नेता नेपाल कतिसम्म डराएका थिए भने त्यो संख्या पनि नपुग्ने भयले केन्द्रीय सदस्य र सांसदलाई चन्द्रागिरी हिल्समा लगेर राखेका थिए । दल दर्ताका लागि त्यहीबाट सिधै निर्वाचन आयोग पुग्दा नेपालको अनुहारमा कुनै उत्साह थिएन् । त्यो बेला नेतृ झाँक्री नै हुन्, जसले माधव नेपालको हात समाएर साथ दिइन् । माधवको हात समाएर दल दर्ताका लागि आयोगभित्र डोर्याएको तस्बिर पछिसम्म पनि निकै चर्चित बन्यो ।
पूर्वप्रधानमन्त्री नेपाललाई संकटका बेला साथ दिने उनै नेतृ झाँक्री बुधबार हुने एकिकृत समाजवादी र माओवादी केन्द्रसहितका ८ वाम दलहरूको एकतामा सहभागी हुने छैनन् । बरु, उनी पत्रकार सम्मेलनमार्फत एमालेमा फर्किने आव्हान गर्दैछिन् । एकता सम्मेलनभन्दा अघि नै १० बजे बबरमहलको बसेरा होटलबाट उनीसहित केही नेताहरूले एकिकृत समाजवादीका देशभरका नेता कार्यकर्तालाई पुरानै घर फर्किन आव्हान गर्न लागेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूसँग पटक पटकको छलफलपछि उनको समूह विनासर्त एमालेमा फर्किन लागेको हो ।
नेता झाँक्री २०६२/०६३ को जनआन्दोलनकी एक चर्चित नेतृ हुन्, जो पोस्टर गर्लको रुपमा पनि चिनिन्छिन् । लोकतन्त्र पक्षधर दलहरूको प्रदर्शनमा रत्नपार्कमा प्रहरीले दमन गर्दा उनको टाउको फुटेको थियो । त्यतिबेला उनी एमाले अखिलकी नेतृ थिइन् । झाँक्री, राजेन्द्र राई, ठाकुर गैरे, गगन थापा, गुरु घिमिरेलगायत दोस्रो जनआन्दोलनले जन्माएका नेता मानिन्छन् ।
एकिकृत समाजवादीको झण्डै ५० महिने यात्रा झाँक्रीका लागि खासै सुखद् भने रहेन । सुरुमा निकै उत्साहका साथ देश दौडाहा गरेर संगठन निर्माणमा जुटेकी उनको केही समयपछि नै अध्यक्ष नेपालसँग मतभेद भयो । पार्टी विभाजनलगत्तै उनी सहरी विकासमन्त्री नियुक्त भइन् । तर, अरु सांसद्लाई पालो पुर्याउने भन्दै पार्टीले ६ महिनामै फिर्ता बोलायो । संसद्मा बजेट छलफल चलिरहँदा मन्त्रीबाट फिर्ता बोलाएपछि झाँक्रीसहित नेकपा एसका नेताहरू नेतृत्वको विरोधमा उत्रिए । उनीहरूले प्रधानमन्त्री देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्म गुहारे । त्यसले पार्टीमा थप तिक्तता उत्पन्न गर्यो । अन्ततः झाँक्रीले रुँदै मन्त्री पदबाट राजीनामा गरिन् ।
त्यसपछि गठबन्धनबाट गुल्मी १ मा उम्मेदवार बनाइएबाहेक झाँक्रीले अरु अवसर पाइनन् । विगतमा सँगै रहेका पार्टी महासचिव घनश्याम भुसालसँग पनि उनको राम्रो सम्बन्ध बन्न सकेन् । २०७९ को आमचुनावमा एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेर पराजित भएपछि उनी नेकपा एसमा पुगेका थिए । विगतमा धोका दिएर आफू पार्टीविहीन भएपछि किस्तीमा राखेको महासचिव लिनमात्र आएको बुझाई झाँक्री र उनीनिकट नेताहरूको रह्यो । उनले पटकपटक भनिन् पनि, ‘घनश्याम दाइ अहिले आउनुले खासै फरक पार्दैन् । चुनावअघि नै आएको भए पार्टीले राष्ट्रिय मान्यता प्राप्त गर्थ्यो ।’ त्यही असन्तुष्टिको सन्देश दिन उनी घनश्यामलाई पार्टीमा भित्र्याउने कार्यक्रम नै बहिस्कार गरिन् ।
पार्टी महाधिवेशनमा पनि उनले भुसालको सट्टा माधव नेपाललाई नै नेतृत्वमा दोहोरिन सघाइन् । पार्टी महाधिवेशनमा पनि उनको साथ अध्यक्ष नेपाललाई नै रह्यो । त्यसको राजनीतिक लाभ भने भएन । पार्टी महाधिवेशनपछि पदाधिकारी चयन गर्दासमेत अध्यक्ष नेपालले उनीप्रति वक्रदृष्टि लगाए । फलस्वरुपः उनी उपाध्यक्षमा पराजित भइन् । आफ्नो सक्रियताका कारण नेताहरू डराएकै कारण भूमिकाविहीन बनाइएको उनको दाबी थियो । नेकपा एसका लागि उनी फेस लिडर थिइन् । तर, नतिजा देखिने भूमिकामा उनलाई कहिल्यै सारिएन् । उनले उनलाई भित्रभित्रै असन्तुष्ट बनाइरहेको थियो ।
अध्यक्ष नेपाललाई पतन्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि भने उनीहरूबीच चर्को मतभेद उत्पन्न भयो । झाँक्रीले अध्यक्ष नेपाललक्षित भ्रष्टाचारले गन्हाएको सिनो टाउकोमा बोकेर हिड्न नसकिने टिप्पणी गरेपछि त्यो पार्टी बैठककै एजेण्डा बन्यो । लामो अन्तरसंघर्ष र उतारचढावपछि अन्ततः उनले माधव नेपालसँग औपचारिक रुपमै साथ छाडिन् । एकिकृत समाजवादी र माओवादी केन्द्रबीच एकताको अन्तिम टुंगो लाग्दा भने उनी पुरानै पार्टीमा फर्किने निर्णयमा पुगेकी छिन् ।
एमालेसँग सम्बन्ध सुधारका लागि उनले अध्यक्ष ओली मात्र होइन, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत संवाद बढाइन् । नेकपाकालीन अन्तरसंघर्षका बेला झाँक्रीले तत्कालीन राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई जोडेर गरेको भाषण विवादमा परेको थियो । उनलाई प्रहरीले पक्राउसमेत गरेको थियो । त्यो चिसो सम्बन्ध सुधार्न अनेक प्रयत्न गरेकी झाँक्रीलाई एमाले अध्यक्ष ओलीले अन्ततः महाधिवेशनको मुखमा ग्रिन सिग्नल दिएका छन् ।