
काठमाडौं : नेकपा माओवादी केन्द्रसहित आठ वाम दलसँग एकताको निर्णयले ५० महिनाअघि नेकपा एमाले फुटाएर निर्माण गरिएको नेकपा एकीकृत समाजवादी चार टुक्रामा विभाजित भएको छ ।
अध्यक्ष माधवकुमार नेपालसहित बहुमत नेताहरू बुधबार घोषणा हुने नेपाली कम्युनिस्ट पार्टीमा जानेछन् भने महासचिव घनश्याम भुसालले नेकपा एसलाई नै पुनर्गठन गर्ने भएका छन् । उनले पत्रकार सम्मेलन गर्दै नयाँ धारसहित अघि बढ्ने घोषणा गरिसकेका छन् ।
एमाले विभाजनमा नेता नेपाललाई साथ दिएकी नेतृ रामकुमारी झाँक्रीले बुधबारै पत्रकार सम्मेलन गर्दै सो पार्टीसँगको यात्रा टुंगिएको घोषणा गरिसकेकी छिन् । पूर्वप्रधानमन्त्री एवं सो पार्टीका सम्मानित नेता झलनाथ खनालले पनि एकतामा सामेल नहुने घोषणा गरिसकेका छन् । भृकुटीमण्डपमा पार्टी एकता सम्मेलन सुरु हुनुअघि नै नेकपा एकीकृत समाजवादी चार टुक्रा भएर फुटेको हो ।
पूर्वप्रधानमन्त्री खनाल नयाँ दल बनाउने वा एमालेमा फर्किने दोधारमा रहेकैबेला चार वटा सर्तसहित मंगलबार उनले गुण्डुमै पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटसमेत गरे । तर जबज छाड्नुपर्ने सर्तमा ओली तयार नभएपछि खनालले मध्यान्हसँग भने, ‘म २०२७ सालदेखिका साथीलाई भेट्न गएको थिएँ । मैले अघि सारेका चार सर्तमा सहमति हुन सकेन । त्यसैले तत्काल एमाले नजाने भएँ ।’
एकताको निर्णयसँग विभाजनमा पुगेको पार्टी जोगाउन अध्यक्ष नेपाललाई हम्मे परेको छ । नेकपा एसमा रहेका नेता कार्यकर्ता अधिकांश विगतमा नेकपाकालीन अन्तरसंघर्षमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितको कित्तामा उभिएका नेता हुन् । सर्वोच्चको एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलासँगै उनीहरू छुट्टिएका थिए । पार्टी एकतापछि नेकपाको ओली इतर पक्षलाई एकठाउँ ल्याउने रणनीति प्रचण्डको छ । त्यसैले नेकपा एसका नेता कार्यकर्ता फर्काउन उनी लागिपरेका छन् ।
बुधबार मात्र उनले सम्मानित नेता खनाल, महासचिव घनश्याम भुसाललगायत नेताहरूसँग भेट गरे । सो भेटको प्रसंग निकाल्दै भुसालले पत्रकार सम्मेलनमा भने, ‘अघि बिहान मात्र पनि मैले प्रचण्डसँग भेटें । मैले प्रष्टसँग भनेको छु, उहाँहरूले छोड्ने सुनिश्चितता नभएसम्म अब पार्टी बन्दैन । प्रचण्ड, माधव कमरेड होस् वा ओलीले छाड्ने सुनिश्चित हुनासाथ हामी एकतामा आउँछौं । त्यो भयो भने जबजको बहस छलफलबाटै टुंगिन्छ ।’
भुसालले देशभरका नेता कार्यकर्तालाई अहिलेकै भूमिकामा रहन आह्वान पनि गरेका छन् । मंसिर पहिलो साता भेला गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाउने उनले बताए ।
सम्बन्धित समाचार
संकटमा हात समाएकी झाँक्रीले किन छाडिन् माधवको साथ ?