२०८३ कार्तिक २८ गते शनिवार / Nov 14 , 2026 , Saturday
२०८३ कार्तिक २८ गते शनिवार

प्रेम

Nada
सुमिना
२०८३ कार्तिक २७ गते १२:०८
Shares
प्रेम

तिम्रो विम्ब आँखामा बोकेर
एकान्तमा
घन्टौं कल्पिएँ भने म
सम्झनू त्यो प्रेम हो
तिमी मेरोअघि उभिँदा
मैनजस्तै पग्लिँए भने म
सम्झनू
त्यो प्रेम हो
तिमीले नियाल्दा
आँखामा आँखा जुधाउन डराएर
बहाना गर्दै तर्किएँ भने म
सम्झनू
त्यो प्रेम हो
तिम्रो स्पर्शलाई
मेरो शरीरले प्रतिकार गरेन भने
तिम्रो हत्केला मेरो हत्केलामा
स्थिर अडिए भने
तिमीले छुँदा
लज्जावती झार जस्तै खुम्चिएँ भने म
मेरो अभिमानको तोड
विनासर्त तिमीमा भेटियो भने
सम्झनू
त्यो प्रेम हो
बोल्दाबोल्दै वाणी हराएर
म अवाक भई
लामो मौनतामा अल्झिएँ भने
कहिलेकाहीँ तिम्रो मौनतालाई भङ्ग गर्न
विनाप्रसङ्ग हतारहतार
बेहोसीमै सवाल गरें भने
सम्झनू
त्यो प्रेम हो
प्रेम के हो ?
शान्ति या स्थिरता ?
समाधि या मौनता ?
समर्पण या त्याग ?
तिम्रो चाहनाको खातिर
म आफूलाई समर्पण गर्न तयार भएँ भने
तिम्रो परिस्थितिलाई मध्यनजर गर्दै
म तिमीलाई त्याग गर्न तयार भएँ भने
सम्झनू
त्यो प्रेम हो
अझै दुविधा छ भने
बन्द गर आफ्‌ना आँखा
सुन अन्तरात्माको आवाज
खोल आँखा
र, हेर मेरा आँखामा
भन के देख्यौ ?
त्यही छचल्किएको भाव प्रेम हो ।
 

laxmi recruitement

सम्बन्धित खबर