२०८३ कार्तिक २५ गते बुधवार / Nov 11 , 2026 , Wednesday
२०८३ कार्तिक २५ गते बुधवार

जिन्दगीको परिभाषा

Nada
नीमा डिसी
२०८३ कार्तिक २५ गते १२:१४
Shares
जिन्दगीको परिभाषा

जिन्दगीको परिभाषा नबुझेपछि
हामी अल्झिरहेका छौँ
भ्रमको अनकन्टार अँध्यारो जङ्गलमा
आँखामा उज्यालो बोकेर पनि
चेतनाका ढोकाहरू बन्द छन् 
आधुनिकताको चम्किलो आवरणभित्र
क्रमशः झर्दैछन् संस्कारका पातहरू,
संस्कृतिका जरामा
लाग्दै छ स्वार्थका धमिरा ।

उद्देश्यहीन चिन्तनको भारी बोकेर
विकृतिको सहारामा
हामी हिँडिरहेका छौँ अन्योल यात्रा  
हाम्रो गन्तव्यको नक्सा हराएको छ
के हुँदैछ, के गर्दैछौँ ,कहाँ जाँदैछौ ?
अहँ ! आफैलाई थाहा छैन।

किताबका खुड्किलामा चढेर
प्रमाणपत्रको शिखर छोएपछि
ज्ञानको आकाश छोएको भ्रममा
हामी आफैँभित्र
अज्ञानको गहिरो इनार खन्दैछौँ।
धर्म, कर्तव्य, मान र मर्यादा
शब्दकोशका पानामा थन्काएर
हातमा फूल र अक्षता बोकेर
मन्दिरका ढोका ढकढक्याउँदै छौँ,
तर अचम्म छेउकै झुपडीमा
भोकले निभेको आशाको दीप
देख्न सक्दैनौँ।
देवताका मूर्तिमा फूल चढाएर
मानिसभित्रको देवत्व
बिर्सिरहेका छौँ।

आऊ ! धर्मलाई मन्दिरको चौघेराबाट
मानिसको आँगनसम्म ल्याऔँ
कर्तव्यलाई जीवनको लक्ष्य बनाऊँ
र शोषित र उत्पीडित झुपडीहरूमा
उपेक्षाको होइन—
सहानुभूतिको हात बढाऔँ,
निष्पट अँध्यारा आँखामा
चेतनाका फूल फुलाऔँ।
हृदयमा स्वार्थको अँध्यारो होइन
ज्ञानको उज्यालो लेखौँ;
कुनै झुपडीमा
भोकको होइन,
आशाको दीप बालौँ।
सायद त्यहीँबाट
जिन्दगीले आफ्नो परिभाषा भेट्नेछ—
जहाँ पूजा फूलले होइन
मानवताको कर्मले हुनेछ
जहाँ धर्म ओठमा होइन
व्यवहारमा फुल्नेछ।
 

laxmi recruitement

सम्बन्धित खबर