
जिन्दगीमा त्यस्तो दिन पनि आओस्
कि ब्यूँझिदा, वरिपरि सल्लाहरु सुसाउन्,
रङ्गीचङ्गी फूलहरुले
पहाडका श्रृङ्खला ढाकिएको होस्,
र, हरियो दूबो लिपिएको
विशाल चौरमा जूनको सिरानी लगाएर
म पल्टिएको हुँ ।
उठ्न मन नलागे ढल्किउँ दाहिने कोल्टो,
र सपनाहरु सम्झिँदै
कहिले उत्तानो पल्टिउँ, कहिले घोप्टो परुँ,
अनि अल्छी मान्दै देब्रे कोल्टो फेरुँ
जसरी जंगलमा सिंहिनीसँग डमरु
निष्फिक्री ओल्टेकोल्टे फेर्छ ।
मन लागे तन्द्रामा पुगुँ,
झसङ्ग भई ब्यूँझुँ,
चिम्म भएका आँखामध्ये एउटा खुल्दा
देखुँ मेरो प्रदेशलाई अँगालो मारेर
देउडा नाचिरहेको हिमश्रृंखला,
र हर्षको तरंगले मेरा दुवै नयन खुलुन्,
अनि त्यो अलौकिक नृत्य म मग्न भई हेरिरहुँ,
खुशीको महासागरमा तैरिँदै डुबिरहुँ–उत्रिरहुँ ।
जब पक्का व्यूँझिउँ
तब गर्न पाउँ छर्लङ्ग दृष्यावलोकन,
वर्षात्मा रुझिसकेपछि
घामको रुमालले पानी पुछ्दै गरेकी
अनुपम प्रकृतिको ।
कोइलीझैँ सुसेलुँ,
मृगझैँ उफ्रिउँ बेमतलबमा
अनि हाइ काढुँ
र निलुँ
मन परेको दिशाबाट आएको
सुवासले भरिएको बतास ।
मदमत्त मयूरझैँ
पूर्व–पश्चिम–उत्तर–दक्षिण
अकारण, निरुदेष्य घुमिरहुँ
र, गरिरहुँ पहाडमा पुल्टुङ्गबाजी ।
मलाई गर्मी हुँदा
आँखाको शानमा झरनाको नाच होस्
मलाई जाडो हुँदा
एक इशारामा फुत्तै हाजिर होस् घाम
र गरोस् मलाई सलाम ।
एकदिन त होस् त्यस्तो
कि ब्यूँझिदा, हरियो दूबो लिपिएको
विशाल चौरमा म पल्टिएको हुँ,
वरिपरि परीहरु साल्सा नाचिरहेका होउन्,
र मेरो बदन ईन्द्रधनुले बेरिएको होस् ।