
क्यानाडाको अल्बर्टा प्रान्तमा जीवनको आफ्नै लय छ । दक्षिणतिर आधुनिकताको भव्यता बोकेको क्यालगरी महानगर छ भने त्यसको उत्तरमा शान्त, सौम्य र सुन्दर एयरड्री सहर । यी दुई सहर भूगोलका अलग बस्ती मात्र होइनन्, प्रकृति, इतिहास, उद्योग र संस्कृतिका सुन्दर संगम पनि हुन् । क्षितिजमा देखिने रक्की पर्वतमालाका हिमशृंखलाले दुवै सहरको सौन्दर्यमा थप मोहकता भर्छन् ।
यहाँको मौसम कुनै कुशल चित्रकारले बनाएको चित्रजस्तै लाग्छ, जसमा हरेक क्षण रङ फेरिइरहन्छन् । जाडोमा आकाशबाट कपासका थुँगाजस्ता हिउँका कण झर्न थाल्छन् । सडक, घर, रुख र खुला मैदान सेतो आवरणले ढाकिन्छन् । सिंगो सहर मौन ध्यानमा बसेझैं देखिन्छ । तापक्रम माइनस १५ देखि २५ डिग्री सेल्सियससम्म झर्दा जनजीवन कठ्यांग्र्रिन्छ । तर, यही चिसोबीच प्रकृतिले न्यानोपनको एउटा उपहार पनि दिन्छ – चिनुक हावा ।
प्रशान्त महासागरबाट आएको न्यानो हावा रक्की हिमाल पार गर्दै प्रिएरीका मैदानमा आइपुग्दा केही घण्टामै तापक्रम बढ्न सक्छ । हिउँ पग्लिन थाल्छ र चिसोले कठ्यांग्र्रिएको वातावरणमा न्यानोपन फर्किन्छ । जाडोको कठोरताबीच आउने यो परिवर्तनले प्रकृतिको अनौठो स्वभाव मात्र देखाउँदैन, जीवनमा आशा र सम्भावनाका ढोका सधैं खुला रहन्छन् भन्ने अनुभूतिसमेत गराउँछ ।
ग्रीष्म ऋतुमा भने यहाँको रूप फेरिन्छ । दिन लामा र घमाइला हुन्छन् । फाँटमा हरियाली छाउँछ, पहेँला फूल फुल्छन् र तालको नीलो पानीमा आकाशको छाया खेल्छ । हिउँको सेतो चादरले छोपिएका दृश्यहरू हरियालीको फराकिलो क्यानभासमा बदलिन्छन् ।
प्रकृतिको काखमा दुई सहर
क्यालगरी र एयरड्रीको यात्रा गर्नु एउटा ठाउँबाट अर्को ठाउँ पुग्नु मात्र होइन, प्रकृतिसँग नजिकिने अवसर पनि हो । क्यालगरीको केन्द्रमा उभिएको १९१ मिटर अग्लो क्यालगरी टावरबाट सहर नियाल्दा आधुनिक भवनहरूको लहर र टाढाका हिमशिखर एउटै दृश्यमा अटाउँछन् । विकासको गतिशीलता र प्रकृतिको स्थिर भव्यता त्यहाँ सँगसँगै देखिन्छन् ।
बो नदीको किनारमा रहेको प्रिन्स आइल्यान्ड पार्कमा हिँड्नु, साइकल चलाउनु वा घाम ताप्दै केहीबेर बस्नु पनि आनन्ददायी अनुभव हो । नदीको कलकल र वरिपरिको हरियालीले सहरको व्यस्तताबीच विश्रामको ठाउँ दिन्छन् ।
क्यालगरीको चहलपहलबाट उत्तरतिर लागेपछि एयरड्रीको खुला आकाश र शान्त वातावरणले स्वागत गर्छ । नोज क्रिक पार्कका गोरेटामा हिँड्दा प्रकृतिसँगको सामीप्य महसुस हुन्छ । जेनेसिस लेकको किनारमा बसेर अस्ताउँदो सूर्यको रातो आभा पानीमा फैलिएको हेर्दा दिनभरको थकान बिर्सन सकिन्छ ।
एऋरड्रीको यो शान्त सौन्दर्यले नेपालका डाँडाकाँडा, उकाली–ओराली र गाउँबस्तीको सम्झना गराउँछ । भूगोल फरक भए पनि प्रकृतिले मनमा जगाउने अनुभूति उस्तै हुन्छ । सायद यही कारण हो, प्रवासमा रहेका नेपालीलाई यहाँको खुला क्षितिजमा पनि आफ्नै मातृभूमिको झल्को भेटिन्छ ।
यहाँबाट करिब डेढ घण्टाको दूरीमा रहेको ब्याफ राष्ट्रिय निकुञ्ज र लेक लुइसको नीलो पानीले यात्रालाई अझ अविस्मरणीय बनाउँछन् । हिमाल, ताल र वनजंगलको अनुपम दृश्यले मानिसलाई केहीबेर मौन बनाउँछ । प्रकृतिको विराटतासामु आफ्ना चिन्ता र व्यस्तता कति साना रहेछन् भन्ने अनुभूति हुन्छ ।
इतिहासको जगमा आधुनिकता
आज क्यालगरी र एऋरड्री आधुनिक पूर्वाधार र आर्थिक गतिविधिले भरिएका सहर हुन् । तर, तिनको इतिहास वर्तमानभन्दा धेरै पुरानो छ । युरोपेली मूलका मानिसहरूको आगमन हुनुअघि यस क्षेत्रमा ब्ल्याकफुट, स्टोनी नाकोडा र त्सुटिना आदिवासी समुदायको बसोबास थियो । उनीहरूका लागि यो भूभाग जीवनयापनको आधार मात्र नभई सांस्कृतिक र आध्यात्मिक महत्त्व बोकेको भूमि पनि थियो ।
सन् १८७५ मा बो र एल्बो नदीको संगममा नर्थ–वेस्ट माउन्टेड पुलिसले फोर्ट क्यालगरी स्थापना गरेपछि सहरको आधुनिक इतिहासले गति लियो । सन् १८८३ मा क्यानेडियन प्यासिफिक रेलवेको विस्तारसँगै व्यापार, पशुपालन र कृषिको विकास तीव्र भयो । रेलमार्गले यस क्षेत्रलाई अन्य भू–भागसँग जोड्यो र आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुर्यायो ।
रेलमार्गको एउटा सानो बस्तीका रूपमा विकसित भएको एऋरड्री पनि समयसँगै फैलिँदै गयो । आज यो आधुनिक आवास, सेवा र सुविधाले भरिएको तीव्र गतिमा बढ्दो सहर बनेको छ ।
सन् १९४७ मा लेडुक क्षेत्रमा तेलको ठुलो भण्डार फेला परेपछि क्यालगरीको आर्थिक विकासले नयाँ गति लियो । तेल तथा ग्यास उद्योगको विस्तारसँगै सहर क्यानाडाको ऊर्जा क्षेत्रको प्रमुख केन्द्र बन्यो । यसले क्यालगरीलाई अन्तर्राष्ट्रिय आर्थिक मानचित्रमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्यो ।
आज यहाँको अर्थतन्त्र तेल र ग्यासमा मात्र सीमित छैन । प्रविधि, सफ्टवेयर, नवप्रवर्तन र स्वच्छ ऊर्जाका क्षेत्रमा पनि गतिविधि विस्तार भइरहेका छन् । रोजगारी र व्यावसायिक सम्भावनाले विश्वका विभिन्न भागबाट आएका मानिसलाई आकर्षित गरेको छ । विविध पृष्ठभूमिका मानिसले आफ्नो श्रम, सीप र सिर्जनशीलतामार्फत यी सहरको विकासमा योगदान पुर्याइरहेका छन् ।
संस्कृतिको रङ र समुदायको आत्मीयता
आर्थिक विकास र आधुनिक जीवनशैलीबीच पनि क्यालगरीको सांस्कृतिक पहिचान जीवन्त छ । हरेक वर्ष जुलाईमा १० दिनसम्म मनाइने विश्वप्रसिद्ध क्यालगरी स्टाम्पिड यहाँको प्रमुख सांस्कृतिक उत्सव हो । काउब्वाय परम्परा र पश्चिमी जीवनशैलीसँग जोडिएको यस उत्सवमा रोडियो प्रतियोगिता, सांगीतिक कार्यक्रम र झाँकी प्रस्तुत गरिन्छन् । उत्सवमा सहभागी हुन विश्वका विभिन्न ठाउँबाट मानिसहरू आउँछन् ।
बहुसांस्कृतिक समाजका रूपमा विकसित यी सहरमा विश्वका विभिन्न भूभागबाट आएका समुदायको भाषा, परम्परा र जीवनशैली मिसिएको छ । यही विविधताबीच नेपाली समुदायले पनि आफ्नो छुट्टै पहिचान बनाएको छ ।
क्यालगरी र एऋरड्रीमा बसोबास गर्ने नेपालीका लागि यी सहर रोजगारी र भविष्य निर्माण गर्ने ठाउँ मात्र होइनन्, आफ्नो संस्कृति जोगाउने थलो पनि हुन् । बडादसैंमा टीका र जमरा लगाएर आशीर्वाद साट्दा, तिहारमा देउसी–भैलो गाउँदा र चाडपर्वमा आफन्त तथा साथीभाइसँग भेटघाट गर्दा प्रवासको दूरी केही छोटो हुन्छ ।
तातो चियाको कपसँगै नेपाली साहित्य, कविता र गीतका कुरा हुनु, आफ्ना गाउँघरका सम्झना साट्नु र बालबालिकालाई नेपाली भाषा तथा संस्कृतिसँग जोड्ने प्रयास गर्नुले समुदायमा आत्मीयता बढाउँछ । हिउँले ढाकिएका सडक र कठ्यांग्रिँदो चिसोबीच पनि नेपाली भेटघाटमा आफ्नोपनको न्यानो भेटिन्छ ।
विदेशमा नयाँ जीवन निर्माण गर्नु भनेको पुरानो पहिचान बिर्सनु होइन । बरु नयाँ परिवेशसँग घुलमिल हुँदै आफ्नो भाषा, संस्कार र सांस्कृतिक जरा जोगाइराख्नु पनि हो । क्यालगरी र एऋरड्रीमा नेपाली समुदायले गरिरहेका यस्ता प्रयासले प्रवासी जीवनलाई थप अर्थपूर्ण बनाएका छन् ।
प्रकृति र विकासको सहयात्रा
क्यालगरीको गगनचुम्बी भव्यता र एऋरड्रीको शान्त सौम्यताबीच एउटा सुन्दर सन्तुलन देखिन्छ । एकातिर उद्योग, प्रविधि र आर्थिक गतिविधिले जीवनलाई गति दिएका छन् भने अर्कोतिर नदी, ताल, पार्क र हिमशृंखलाले प्रकृतिसँगको सम्बन्ध जीवित राखेका छन् ।
यी सहरको आकर्षण आधुनिक भवन वा आर्थिक समृद्धिमा मात्र सीमित छैन । प्रकृतिको संरक्षण, सार्वजनिक खुला क्षेत्रको उपयोग, सांस्कृतिक विविधता र समुदायबीचको सहअस्तित्वले पनि तिनको जीवनशैलीलाई अर्थपूर्ण बनाएको छ ।
रक्की हिमालबाट आउने चिसो सिरोटो, चिनुक हावाको न्यानो स्पर्श, हिउँले ढाकिएका बस्ती, इतिहासका पदचिह्न र बहुसांस्कृतिक समाजको जीवन्तताले क्यालगरी र एऋरड्रीलाई विशिष्ट बनाएका छन् । यी सहर नेपाली पाठकका लागि क्यानाडाको टाढाको भूगोल मात्र होइनन्, प्रकृति र आधुनिकता सँगसँगै अघि बढ्न सक्छन् भन्ने उदाहरण पनि हुन् ।
हिउँको घुम्टोभित्र लुकेका यी सहरमा जीवन रोकिँदैन । मौसम फेरिन्छ, बस्ती विस्तारिन्छन् र नयाँ सम्भावना जन्मिन्छन् । तर, हिमशृंखलाको स्थिरता, नदीको प्रवाह र मानिसले जोगाइराखेको आत्मीयताले जीवनलाई निरन्तर अर्थ दिइरहन्छन् ।