२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

पोखरिया नगरपालिकाको ५८ करोड १८ लाखको बजेट पारित

Nada
लालबाबु बानिया
२०८३ कार्तिक १३ गते २०:५४
Shares
पोखरिया नगरपालिकाको ५८ करोड १८ लाखको बजेट पारित

पर्सा : पर्साको पोखरिया नगरपालिकाको ११औं नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि ५८ करोड १८ लाख ९ हजार ८३९ रुपैयाँको बजेट पारित गरेको छ ।

शुक्रबार नगरपालिका कार्यालयको सभा हलमा आयोजित नगरसभामा प्रमुख प्रशासकीय अधिकृत शिव सिंह पटेलले उक्त बजेट प्रस्तुत गरेका थिए । नगरसभाको उद्घाटन नगरप्रमुख प्रद्युम्न चौहानले गरेका थिए ।

नगरप्रमुख चौहानको अध्यक्षतामा सम्पन्न नगरसभामा उनले नगरपालिकाको समग्र विकासका लागि आफू निरन्तर लागिपरेको बताए । नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न ढिलाइ भए पनि प्रभावकारी रूपमा ल्याइएको उनको भनाइ थियो । 

‘नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न ढिलो आयो, तर तन्दुरुस्त आयो,’ उनले भने । 

नगरप्रमुख चौहानले नगरपालिकाका कर्मचारीलाई आठ महिनाको तलबसमेत खुवाउने व्यवस्था गरिने बताए । उनले टाउन प्लानिङको काम छिट्टै अघि बढाइने जानकारी दिँदै नगरपालिकामा विशेष बजेट विनियोजन गरिएको उल्लेख गरे । यसअघि सम्पन्न भएका कामको विवरण विशेष पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने पनि उनले बताए ।

नगरसभाबाट पारित बजेट तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, पर्यटन, भौतिक पूर्वाधार, सिँचाइ, महिला तथा बालबालिका उत्थान, खेलकुद र ज्येष्ठ नागरिक सम्मानलगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पटेलले नगरपालिकाको विकासका लागि जनप्रतिनिधि र कर्मचारीबीच आपसी समन्वय तथा सहकार्य आवश्यक रहेको भन्दै सबैलाई मिलेर अघि बढ्न आग्रह गरे ।

नगरसभामा वडाध्यक्षहरू प्रमोद गिरी, केदारप्रसाद, महेन्द्र महतो, लक्ष्मण साह कानु, शियानन्द चौहान, नौसाद आलम, सोनालाल साह र किशोरी साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य, नगरसभा सदस्य, नगरपालिका कर्मचारी, लेखा अधिकृत विजय झा, स्वास्थ्य संयोजक कौशलेन्द्र झा, आईटी अफिसर अरविन्द द्विवेदी, सन्दीप साह, सामाजिक शाखा प्रमुख वाल्मीकि साहलगायतको सहभागिता थियो । कार्यक्रम सञ्चालन नरेन्द्र साहले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर