२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

समाचार कक्षबाट पत्रकार पक्राउ गर्ने कार्य तत्काल रोक्न महासंघको आग्रह

Nada
२०८३ कार्तिक १३ गते १८:३७
Shares
समाचार कक्षबाट पत्रकार पक्राउ गर्ने कार्य तत्काल रोक्न महासंघको आग्रह

काठमाडौँ : समाचार संकलन तथा सम्पादनको काम भइरहेको समाचार कक्षबाटै पत्रकारलाई प्रहरीले पक्राउ गर्न थालेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारलाई कार्यस्थलबाटै नियन्त्रणमा लिनु प्रेस स्वतन्त्रता र संविधानले सुनिश्चित गरेको अधिकारमाथिको हस्तक्षेप भएको बताएका छन् ।

उनले समाचार कक्षमा प्रहरी प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्ने कार्यलाई राज्य आतंकको संज्ञा दिँदै यस्तो गतिविधि नरोकिए महासंघ आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।

दाहालले नेपालको संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाविपरीत हुने यस्ता गतिविधि तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रहरीले नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाटै नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी, सोही दिन नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी टोली पुगेको छ । अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै सादा पोसाकमा पाँच जना प्रहरी कार्यालय पुगेका थिए ।

नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार प्रहरी टोलीले संवाददाता नवराज मैनालीलाई साइबर ब्युरोमा लैजानुपर्ने भन्दै कार्यालयमा पुगेको जनाएको छ ।

यसैबीच, शुक्रबार नै मोटिभेट न्युजमा कार्यरत पत्रकार शोभराज बराललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

एकै दिन विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई नियन्त्रणमा लिने र कार्यालयमै प्रहरी पुग्ने घटनापछि पत्रकार महासंघले प्रेस स्वतन्त्रता तथा पत्रकारको पेसागत सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर