२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

बुढीगण्डकी बगरमा फसेको कुकुरको उद्धार, २० दिनपछि घर फर्किइन् सेती

Nada
२०८३ कार्तिक १३ गते १७:१७
Shares
बुढीगण्डकी बगरमा फसेको कुकुरको उद्धार, २० दिनपछि घर फर्किइन् सेती

काठमाडौं : बुढीगण्डकीको बाढीले घर र पुल बगाउँदा नदीपारि छुटेको एउटा कुुकुर २० दिनपछि घर फर्किएको छन् । सेती नामको त्यो कुकुर बाढी आएको दिनदेखि नदीको बगरमा अलपत्र परेको थियो । उनलाई तीन दिनको निरन्तर प्रयासपछि शुक्रबार उद्धार गरिएको हो ।

गत असोज २५ गते उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ जगत क्षेत्रमा आएको बाढीले स्थानीय दयाराम कार्कीको घरसँगै पुल पनि बगाएको थियो । घरका तीन कुकुरमध्ये सेती बाढीपछि बुढीगण्डकीको अर्कोपट्टि फसेको थियो । नदीको भंगालो पार गरेर सेती वारि आउन सकेन् भने स्थानीय बासिन्दाले चाहेर पनि उसको उद्धार गर्न सकेका थिएनन् । 

सेती फसेको ठाउँको एकातिर छङ्गाछुर भीर थियो भने अर्कोतिर बुढीगण्डकीको उर्लंदो भंगालो । खानेकुरा नपाएपछि कुकुर २० दिनदेखि भोकै थियो । घरधनी दयाराम र स्थानीय युवाहरूले बिस्कुटलगायत खानेकुरा पुर्‍याउने अनेक प्रयास गरे पनि नदी कटाएर उनलाई खुवाउन सकेका थिएनन् । 

सुरुमा हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएको थियो । तर उडान अनुमति र प्रतिकूल मौसमका कारण त्यो सम्भव भएन । शुक्रबार पनि हेलिकप्टरबाट उद्धार गर्ने तयारी थियो । मौसमले साथ नदिएपछि कायाकिङ तथा र्‍याफ्टिङ टोलीको सहयोग लिइयो ।

चुमनुब्री गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय गोरखा, एनिमल नेपाल र गोरखा जेसिजलगायतको पहलमा धादिङबाट उद्धार टोली त्यहाँ पुगेको थियो । रोयल बिच क्याम्पका राम सिलवाल, अरुण थपलियासहितको टोलीले कायाकिङमार्फत नदी पारि पुगेर सेतीलाई सुरक्षित रूपमा उद्धार गर्‍यो ।

गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार लगातार तीन दिनको प्रयासपछि उद्धार सम्भव भएको हो । ‘सिमसिम पानी परिरहेको थियो, उर्लेको बुढीगण्डकीमा हेलिएर टोलीले कुकुर उद्धार गर्नुभयो,’ उनले भने ।

उद्धारपछि सेतीले जगत बगरमै आफ्ना घरधनी दयारामलाई भेट्यो । २० दिनपछि भएको पुनर्मिलनले उद्धारमा खटिएका स्थानीय र सहयोगीहरूलाई पनि खुसी बनायो । अध्यक्ष लामाले सेतीलाई खादा लगाएर घरधनीको जिम्मा लगाएको बताए ।

बाढीले जगत क्षेत्रमा चार घर बगाएको थियो । त्यसैगरी बुढीगण्डकी पारि जंगल क्षेत्रमा केही बाख्रा पनि फसेका छन् । उनीहरू नदी पार गरेर खोरसम्म फर्कन सकेका छैनन् । गाउँपालिका अध्यक्ष लामाका अनुसार बाख्राहरू जंगलमा चरिरहेको देखिएका छन् । उनीहरूको उद्धार केही दिनपछि गरिने तयारी छ । ‘ठूलो मेहनतका साथ कुकुरको उद्धार सम्भव भयो । बाख्रा जंगलमा चरिरहेका छन्, केही दिनमै उद्धार गर्छौं । कुकुर भोकै थियो, त्यसैले पनि उद्धार छिटो गर्नुपर्ने थियो,’ अध्यक्ष लामाले भने ।

ताजा खबर

सम्बन्धित खबर