
काठमाडौं : प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । काउन्सिलले पक्राउको कानुनी आधार सार्वजनिक गर्न र कानुनविपरीत नियन्त्रणमा राखिएका पत्रकारलाई तत्काल रिहा गर्न माग गरेको छ ।
शुक्रबार कार्यालय समय सकिएपछि सादा पोशाकका प्रहरीले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति काउन्सिलले ध्यानाकर्षण भएको जनाएको हो ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा पत्रकार पक्राउ गर्नुको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमति लिइएको नदेखिएको उल्लेख छ । त्यस्तै, सम्बन्धित विषयमा अपराधको जाहेरी परेको वा नपरेको भन्ने विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिन खोजिनु आपत्तिजनक रहेको काउन्सिलको ठहर छ ।
प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलले जनाएको छ ।
सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति भएमा वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी परेमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको विज्ञप्तिमा उल्लेख छ । समाचार सामग्रीकै विषयमा सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समाधान खोज्न काउन्सिलले सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
त्यस्तै, नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न पनि काउन्सिलले माग गरेको छ । कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए उनीहरूलाई तत्काल रिहा गर्न काउन्सिलको आग्रह छ ।
काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई भने सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।
प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनका लागि काउन्सिल प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
