२०८३ कार्तिक २३ गते सोमवार / Nov 09 , 2026 , Monday
२०८३ कार्तिक २३ गते सोमवार

सरकारी स्टलमै प्रतिबन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियो : सभामुख अर्याल

Nada
२०८३ कार्तिक २३ गते १७:३९
Shares
सरकारी स्टलमै प्रतिबन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियो : सभामुख अर्याल

काठमाडौँ : सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । 

थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

सरकारले नागरिकलाई प्लास्टिक झोलामुक्त समाज निर्माण गर्न आग्रह गरिरहेको अवस्थामा सरकारी पक्षबाटै सञ्चालित स्टलहरूमा प्लास्टिकका झोला देखिनु उचित नभएको उनले बताए । 

उनले उत्पादित वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) पनि स्पष्ट रूपमा उल्लेख नगरिएको बताए । निजी क्षेत्रका व्यवसायीलाई आफ्ना उत्पादनमा एमआरपी अनिवार्य रूपमा राख्न निर्देशन दिइरहेको सरकारले आफ्नै उत्पादनमा भने एमआरपी स्पष्ट नदेखिएको उनको भनाइ थियो । 

उनले प्लास्टिक झोला प्रयोग नगर्न तथा अनिवार्य रूपमा एमआरपी लागू गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘सरकारले नागरिकलाई प्लास्टिक झोलामुक्त समाज बनाऊँ भनेर भनिरहेछ । तर सरकारकै तर्फबाट राखिएका केही स्टलहरूमा प्लास्टिकका झोलाहरू देखियो । त्यसलाई हामीले सुधार्नुपर्छ । हामीले जनतालाई एमआरपी राख भनेर एकदम निर्देशन दिइरहेको देखिन्छ । तर सरकारकै प्रडक्टमा एमआरपी स्पष्टसँग देखिएन । यसमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

खाद्य संस्थानले आयोजना गरेको तिहार विशेष रैथाने मेलामा करिब २६ वटा स्टल रहेका छन् । मेलामा तिहारको लागी सामान किन्नेहरूको भीड लागेको छ । सभामुख अर्यालले पनि सोमवार मेलाको अवलोकन गर्नुको साथै आवश्यक सामान खरिद गरेका थिए । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर