
क्वालालम्पुर : मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकले तिर्नुपर्ने जरिवाना उनको राजनीतिक दलले भुक्तानी गरेपछि उनलाई जेलबाट घरमै नजरबन्दमा स्थानान्तरण गर्ने बाटो खुलेको छ ।
शाही क्षमादानको सर्तअनुसार तिर्नुपर्ने ५० मिलियन मलेसियन रिंगेट (करिब १ करोड २३ लाख २० हजार अमेरिकी डलर) जरिवाना भुक्तानी गरिएको नजिबको राजनीतिक दल युनाइटेड मलायस नेसनल अर्गनाइजेसन (युएमएनओ)ले शुक्रबार जनाएको छ ।
युएमएनओका अनुसार पार्टीले चन्दा संकलन अभियानमार्फत रकम जुटाएर क्वालालम्पुर उच्च अदालतमा जरिवाना बुझाउने सम्पूर्ण प्रक्रिया शुक्रबार बिहान पूरा गरेको हो ।
सन् २००९ देखि २०१८ सम्म मलेसियाको प्रधानमन्त्री रहेका नजिबलाई सरकारी लगानी कोष ‘वान मलेसिया डेभलपमेन्ट बरहाद’ (१एमडीबी) सँग सम्बन्धित अर्बौं अमेरिकी डलरको भ्रष्टाचार तथा रकम हिनामिना प्रकरणमा दोषी ठहर गरिएको थियो । उनले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् ।
नजिबले प्रधानमन्त्री रहेका बेला स्थापना गरेको १एमडिबी कोषबाट ठुलो रकम हिनामिना भएको थियो । अमेरिकी अनुसन्धानकर्ताहरूका अनुसार उक्त प्रकरणमा करिब ४ अर्ब ५० करोड अमेरिकी डलर बराबरको रकम दुरुपयोग भएको थियो । त्यसमध्ये १ अर्ब अमेरिकी डलरभन्दा बढी रकम नजिबसँग सम्बन्धित खातामा पुगेको आरोप लगाइएको थियो ।
नजिबले भने आफूलाई अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको जटिल आर्थिक घोटालाको बलिको बोका बनाइएको दाबी गर्दै आएका छन् ।
यसअघि मलेसियाका राजाले सेप्टेम्बरमा जारी गरेको दोस्रो शाही क्षमादानमार्फत नजिबलाई बाँकी कैद सजाय घरमै नजरबन्दमा बिताउन अनुमति दिएका थिए ।
तर, जरिवाना भुक्तानी भइसके पनि उनलाई कहिले घरमा स्थानान्तरण गरिने भन्नेबारे तत्काल स्पष्ट भइसकेको छैन । यस विषयमा नजिबका सहयोगीले पनि तत्काल प्रतिक्रिया दिएका छैनन् ।