२०८३ कार्तिक २० गते शुक्रवार / Nov 06 , 2026 , Friday
२०८३ कार्तिक २० गते शुक्रवार

राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

Nada
२०८३ कार्तिक २० गते १३:४२
Shares
राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले आज भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवनमा भएको भेटवार्तामा उनीहरुबीच संसद्को आगामी अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

त्यसअवसरमा राष्ट्रपति पौडेलले संसद्‍मा जति धेरै बहस र छलफल हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुने बताएका थिए । संसद्‍मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारले गरेका काम कारबाहीका विषयमा समेत चासो राखेका थिए ।

त्यसअवसरमा सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलबाट संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी गराएको उनको निजी सचिवालयले जनाएको छ ।

सभामुख अर्यालले संघीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका संघ (आइपियु) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराए ।

त्यस्तै तान्जानियाको अरुसामा सम्पन्न अन्तरव्यवस्थापिका संघ (आइपियु)को १५३औं महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुख अर्यालले राष्ट्रपति पौडेललाई अवगत गराएका थिए ।

सचिवालयका अनुसार सातवटै प्रदेशका सभामुख तथा उपसभामुखसहित प्रदेशसभाका पदाधिकारीहरूसँग राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाका विषयमा पनि सभामुख अर्यालले जानकारी गराएका थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर