२०८३ कार्तिक १६ गते सोमवार / Nov 02 , 2026 , Monday
२०८३ कार्तिक १६ गते सोमवार

इरानमाथि फेरि सैन्य कारबाही गर्न ट्रम्पलाई नेतान्याहुको दबाब

Nada
२०८३ कार्तिक १६ गते १३:०४
Shares
इरानमाथि फेरि सैन्य कारबाही गर्न ट्रम्पलाई नेतान्याहुको दबाब

एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि पुनः सैन्य कारबाही सुरु गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दबाब दिएको एक प्रतिवेदनले जनाएको छ ।

समाचार संस्था एक्सियोसका अनुसार शनिबार नेतान्याहु र ट्रम्पबीच टेलिफोन वार्ता भएको थियो । वार्ताका क्रममा इरानसँग जारी कूटनीतिक संवाद र सम्भावित सैन्य कारबाहीबारे छलफल भएको थियो । ट्रम्पले आइतबार उक्त टेलिफोन वार्ता ‘धेरै राम्रो’ भएको बताएका थिए ।

प्रतिवेदनअनुसार नेतान्याहु इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्ने पक्षमा छन् भने ट्रम्प तत्काल वार्तामार्फत समाधान खोज्न चाहन्छन् । यद्यपि ट्रम्पले कूटनीतिक प्रयाससँगै सैन्य विकल्प पनि खुला राखेको जनाइएको छ ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईलाई वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे पत्र पठाएका छन् । कतारी मध्यस्थकर्ताले पनि लगातार तेस्रो दिन इरानी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले भने वार्तामा अहिलेसम्म सहमति हुन नसकेको बताए । उनले कूटनीतिक समाधानका लागि प्रयास जारी रहेको उल्लेख गर्दै अमेरिकाले पनि कूटनीतिक मार्ग रोज्ने अपेक्षा व्यक्त गरेका छन् ।

सम्बन्धित खबर