
काठमाडौं युरोपको बाल्कन क्षेत्रमा रहेको सर्बियामा दुई वर्षदेखि जारी विद्यार्थी आन्दोलनले ऐतिहासिक राजनीतिक मोड लिएको छ । लामो समयदेखि सत्ताको केन्द्रमा रहेका अलेक्जेन्डर भुचिच र उनको दललाई पराजित गर्दै नेताविहीन विद्यार्थी अभियान ‘स्टुडेन्ट लिस्ट’ संसदीय निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बनेको छ ।
अक्टोबर २५ मा भएको निर्वाचनमा विद्यार्थी समर्थित उम्मेदवारले करिब ५३ प्रतिशत मत प्राप्त गरेका छन् । रोयटर्सका अनुसार, प्रारम्भिक मतगणनामा उनीहरूले २५० सदस्यीय संसद्मा १३९ सिट जित्ने देखिएको छ । द गार्डियनले भने १४१ सिट पुग्न सक्ने अनुमान गरेको छ । मतगणनाका विभिन्न प्रारम्भिक प्रक्षेपणमा केही अन्तर देखिए पनि विद्यार्थी अभियानले स्पष्ट बहुमत हासिल गरेको तथ्यमा दुवै माध्यम सहमत छन् ।
परिणाम सार्वजनिक भएपछि भुचिचले हार स्वीकार गरे । राजधानी बेलग्रेडसहित विभिन्न सहरमा मानिसहरू सडकमा निस्किएर खुसी मनाए । तर यो विजयको कथा चुनावको दिनबाट सुरु भएको होइन । यसको अन्र्तयमा दुई वर्षअघिको एउटा दुःखद घटना छ ।
एउटा दुर्घटना, जसले देशव्यापी आन्दोलन जन्मायो
सन् २०२४ नोभेम्बरमा सर्बियाको नोभी साद सहरस्थित रेलवे स्टेसनको छानोको संरचना खस्दा १६ जनाको मृत्यु भयो । उक्त स्टेसनको पुनर्निर्माणसम्बन्धी काम र सार्वजनिक पूर्वाधार निर्माणमा भ्रष्टाचार तथा लापरबाही भएको आरोप उठ्यो ।
विद्यार्थीहरूले दुर्घटनाको निष्पक्ष छानबिन, जिम्मेवार व्यक्तिमाथि कारबाही र सरकारी ठेक्कापट्टामा पारदर्शिताको माग गरे । सुरुमा दुर्घटनाको जवाफदेहितामा केन्द्रित आन्दोलन क्रमशः सरकार र राज्यका संस्थामाथिको प्रश्नमा विस्तार भयो ।
एसोसिएटेड प्रेस (एपी) र रोयटर्स का रिपोर्टअनुसार, विद्यार्थी आन्दोलनले भ्रष्टाचार, राजनीतिक संरक्षण र राज्यका संस्थामाथि सत्तारूढ दलको प्रभावविरुद्ध जनआक्रोशलाई एक ठाउँमा ल्यायो । विश्वविद्यालयका विद्यार्थीले थालेको आन्दोलनमा शिक्षक, प्राध्यापक, किसान, पेसाकर्मी र सर्वसाधारणसमेत जोडिँदै गए ।
आन्दोलनकारीको मुख्य प्रश्न थियो– सार्वजनिक निर्माणमा भएको लापरबाहीले मानिसको ज्यान लिँदा जिम्मेवारी कसले लिने ? राज्यका स्रोत र साधनको प्रयोगमा पारदर्शिता किन छैन ? अनि दोषीलाई कारबाही गराउने संस्थाहरू राजनीतिक प्रभावबाट कति स्वतन्त्र छन् ?
यसरी एउटा दुर्घटनाले वर्षौंदेखि थुप्रिएको असन्तुष्टिलाई बाहिर ल्याउने काम गर्यो ।
सरकारको शैली र आन्दोलनको विस्तार
भुचिच र उनको सर्बियन प्रोग्रेसिभ पार्टीले भ्रष्टाचार तथा दमनका आरोप अस्वीकार गर्दै आएका थिए । सरकारले आन्दोलनकारीका मागको जवाफ दिएको र प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा दमन गरेको भन्ने आरोप पनि अस्वीकार गर्यो ।
तर आन्दोलनकारीले सरकारी जवाफलाई पर्याप्त मानेनन् । उनीहरूले छानबिन, जवाफदेहिता र संस्थागत सुधारका मागलाई निरन्तर उठाइरहे । आन्दोलनकारी र सरकार समर्थकबीच तनाव बढ्यो । एपीका अनुसार, राजधानी बेलग्रेडको संसद् र सरकारी कार्यालयनजिकै सरकार समर्थकहरूले लामो समयसम्म शिविर बनाएर बसेका थिए । आन्दोलनकारीले त्यसलाई दबाब र डरको वातावरणसँग जोडेका थिए ।
भुचिच सन् २०१४ देखि प्रधानमन्त्री वा राष्ट्रपतिका रूपमा सर्बियाको राजनीतिको केन्द्रमा थिए । उनको दलले राज्यका संस्थामाथि प्रभाव बढाएको, सञ्चारमाध्यममा असन्तुलित पहुँच राखेको र चुनावी प्रतिस्पर्धालाई असमान बनाएको आरोप विपक्षी तथा आलोचकहरूले लगाउँदै आएका थिए । यी आरोपलाई सत्तारूढ पक्षले अस्वीकार गर्दै आएको थियो ।
लगातारको आन्दोलनपछि भुचिचले राष्ट्रपति पद छाड्दै समयअगावै संसदीय निर्वाचन घोषणा गरे । तर उनले चुनावलाई आफ्नो राजनीतिक प्रभाव कायम राख्ने अवसरका रूपमा लिएको देखियो । सत्तारूढ दलको सूचीमा उनी आफैँ अग्रस्थानमा रहे ।
अन्ततः चुनावले उल्टो परिणाम दियो । दुई वर्षसम्म सडकमा उठेको असन्तुष्टि मतपेटिकामा पुग्यो र सत्तारूढ दल पराजित भयो ।
जनताले के सन्देश दिए ?
यो चुनावलाई केवल विद्यार्थीको विजय भन्नुभन्दा व्यापक जनमतको संकेतका रूपमा बुझ्नुपर्छ । आन्दोलनको नेतृत्व विद्यार्थीले गरे पनि चुनावी सूचीमा प्राध्यापक, चिकित्सक, पूर्व केन्द्रीय बैंक गभर्नर, कलाकार, किसान र विभिन्न पेसाका व्यक्तिहरू समेटिएका थिए ।
रोयटर्सले सार्वजनिक गरेका नागरिक प्रतिक्रियामा परिवर्तनप्रति ठूलो आशा देखिन्छ । एक नागरिकले जीवनका विभिन्न क्षेत्रमा फैलिएको भ्रष्टाचार अन्त्य हुने अपेक्षा व्यक्त गरेकी छन् । अर्की नागरिकले भने नयाँ समूहको नेतृत्व कसले गर्ने र यति ठूलो परिवर्तन कसरी सम्भव हुन्छ भन्नेबारे आशंका जनाएकी छन् ।
यी दुई प्रतिक्रियाले जनमतका दुवै पाटा देखाउँछन् –पुरानो सत्ताप्रति थाकेका जनता र नयाँ नेतृत्वप्रति आशा । तर त्यससँगै भविष्यबारे अनिश्चितता भने कायमै छ ।
निर्वाचनमा करिब ७० प्रतिशतसम्म मतदान भएको रोयटर्सको रिपोर्टले परिवर्तनको चाहना व्यापक रहेको संकेत गर्छ । यद्यपि, उच्च मतदानलाई सबै नागरिक एउटै राजनीतिक विचारमा सहमत भएको भन्न मिल्दैन । विद्यार्थी अभियानको पक्षमा मत खसाल्ने सबै मतदाताको प्राथमिकता पनि एउटै नहुन सक्छ ।
कसैले भ्रष्टाचार अन्त्य चाहेका छन्, कसैले शिक्षा सुधार, कसैले निष्पक्ष न्याय र कसैले लामो समयदेखि सत्तामा रहेको दलको विकल्प । यी फरक अपेक्षालाई एउटै राजनीतिक कार्यक्रमभित्र समेट्नु नयाँ शक्तिका लागि पहिलो चुनौती हुनेछ ।
जितपछि सुरु भएको कठिन परीक्षा
विद्यार्थी अभियानको सबैभन्दा ठूलो विशेषता यसको स्पष्ट औपचारिक नेता नहुनु हो । आन्दोलनका क्रममा सामूहिक निर्णय प्रक्रियालाई प्राथमिकता दिइयो । चुनावमा पनि ‘स्टुडेन्ट लिस्ट’ नाममा विभिन्न क्षेत्रका उम्मेदवार अघि सारिए ।
तर सरकार सञ्चालनका लागि प्रधानमन्त्री, मन्त्रिपरिषद् र स्पष्ट जिम्मेवारी बाँडफाँट आवश्यक हुन्छ । अब कसले सरकारको नेतृत्व गर्ने, फरक विचार भएका सांसदहरूबीच सहमति कसरी कायम गर्ने र नीति कार्यान्वयन कसरी गर्ने भन्ने प्रश्न उठेका छन् ।
द गार्डियनका अनुसार, नयाँ समूहले भ्रष्टाचार नियन्त्रण, न्यायपालिकाको स्वतन्त्रता, सञ्चारमाध्यमको स्वतन्त्रता र सरकारी ठेक्कापट्टामा पारदर्शिता बढाउने प्रतिबद्धता जनाएको छ । राज्यका निकायमा दलका निकट व्यक्तिलाई नियुक्त गर्ने अभ्यास रोक्ने र सार्वजनिक सेवामा सुधार ल्याउने योजना पनि अघि सारिएको छ ।
तर राज्यका संस्थामा पुरानो सत्तासँग निकट सम्बन्ध भएका अधिकारीहरू रहन सक्छन् । नयाँ सरकारले उनीहरूलाई कानुनी प्रक्रियाभित्र रहेर कसरी जवाफदेही बनाउँछ भन्ने कुरा महत्त्वपूर्ण हुनेछ । त्यसैगरी, भ्रष्टाचारविरुद्धको अभियान राजनीतिक प्रतिशोधमा परिणत नहोस् भन्ने सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक छ ।
विदेशनीतिमा समेत चुनौती छन् । सर्बियाको युरोपेली संघसँगको सम्बन्ध, रुससँगको निकटता र कोसोभोसम्बन्धी विवाद संवेदनशील विषय हुन् । विद्यार्थी अभियानले घरेलु सुधारलाई प्राथमिकता दिए पनि यी मुद्दाबाट लामो समय अलग रहन सम्भव छैन ।
रोयटर्सका अनुसार, नयाँ संसद् बसेपछि सरकार गठनका लागि संवैधानिक समयसीमा पनि छ । त्यसैले उत्सवको चरणपछि उनीहरूले छिट्टै नेतृत्व र सरकारको संरचनाबारे निर्णय गर्नुपर्नेछ ।
सर्बियाको अनुभवले दिने राजनीतिक पाठ
सर्बियाको घटनाले एउटा महत्त्वपूर्ण कुरा देखाएको छ– लामो समय सत्तामा रहेको शक्तिलाई चुनौती दिन परम्परागत राजनीतिक दल हुनै पर्छ भन्ने छैन । सार्वजनिक असन्तुष्टिलाई स्पष्ट एजेण्डासहित चुनावी विकल्पमा रूपान्तरण गर्न सकियो भने नयाँ शक्तिले पनि स्थापित दललाई पराजित गर्न सक्छ ।
सर्बियाका विद्यार्थीले मतपेटिकाबाट सत्ता परिवर्तनको बाटो खोलेका छन् । अब उनीहरूको वास्तविक परीक्षा राज्यका संस्थालाई कति स्वतन्त्र बनाउन सक्छन्, सार्वजनिक सेवामा कस्तो सुधार ल्याउँछन् र जनताले गरेको विश्वासलाई कति समयसम्म कायम राख्न सक्छन् भन्नेमा हुनेछ ।
अन्ततः यो चुनावले जनमत सधैँ पुराना राजनीतिक शक्तिको पक्षमा रहँदैन भन्ने सन्देश दिएको छ । तर जनताले परिवर्तनको जिम्मेवारी सुम्पिएको नयाँ शक्तिले पनि परिणाम दिन सकेन भने आशा निराशामा बदलिन सक्छ ।