
मलेसिया : आफ्नै बाबुबाट यौन दुर्व्यवहार भएको आरोप लागेकी ११ वर्षीया बालिकाको हेरचाह तथा संरक्षणसम्बन्धी विषयमा सार्वजनिक प्रश्न उठेपछि पेनाङ प्रहरीले घटनाक्रमबारे स्पष्ट पारेको छ।
पेनाङका प्रहरी प्रमुख दातुक डेनिस लिम क्वाङ केङका अनुसार बालिकाका बाबु पक्राउ परेको दिन अक्टोबर १६ मा उनलाई अस्थायी रूपमा हजुरआमाको जिम्मा लगाइएको थियो। त्यसपछि अक्टोबर २१ मा जैविक आमाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अक्टोबर १६ मा बिहान ११ः१५ बजे बालिकाको विद्यालयका प्रधानाध्यापकले दक्षिणपश्चिम जिल्ला प्रहरी मुख्यालयको अपराध अनुसन्धान विभागमा उजुरी दिएका थिए। उजुरीपछि प्रहरीले सोही दिन साँझ करिब ५ः३० बजे बालिकाका बाबुलाई पक्राउ गरी अक्टोबर २४ सम्म हिरासतमा राख्न अदालतबाट अनुमति लिएको थियो।
प्रहरी प्रमुख लिमले अक्टोबर १७ मा बालिकालाई पेनाङ अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा पठाइएको र अक्टोबर २१ सम्म बालरोग उपचार कक्षमा राखिएको जानकारी दिएका छन्।
त्यसपछि दक्षिणपश्चिम जिल्ला समाज कल्याण विभागले बालिकालाई उनकी जैविक आमाको जिम्मा लगाएको थियो। घटनाको समयमा आमा सिंगापुरमा रहेकाले सुरुमा बालिकालाई अस्थायी रूपमा पितृपक्षकी हजुरआमाको जिम्मा दिइएको प्रहरीको भनाइ छ।
यस घटनामा संलग्न भएको आरोपमा बालिकाका बाबुलाई अक्टोबर २४ मा बालिक पुलाउ अदालतमा सन् २०१७ को बालबालिकाविरुद्ध हुने यौन अपराधसम्बन्धी ऐनको दफा १४(क) तथा दफा १६ अन्तर्गत अभियोग लगाइएको छ।
प्रहरीका अनुसार मुद्दा हाल अदालतमा विचाराधीन छ। आगामी नोभेम्बर ११, २०२६ मा मुद्दाको अर्को सुनुवाइसम्बन्धी प्रक्रियाका लागि अदालतमा उपस्थित हुने मिति तोकिएको छ।
यसअघि गत बिहीबार बेरापिट राज्यसभा सदस्य हेङ ली लीले बालिकालाई आरोपित व्यक्तिसँग बसोबास गरेको भनिएको घरमै फर्काउने निर्णयप्रति प्रश्न उठाएकी थिइन्। उनले बालिकालाई तत्काल सुरक्षित संरक्षणमा राख्नुपर्ने विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी थिइन्।
उनले जोखिममा रहेका बालबालिकाको संरक्षण गर्दा समाज कल्याण विभागले अझ संवेदनशील, लचिलो र जिम्मेवार दृष्टिकोण अपनाउनुपर्ने बताउँदै समाज कल्याण अधिकारी, स्वास्थ्यकर्मी तथा प्रहरीबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएकी थिइन्।
प्रहरी प्रमुख लिमले घटनाबारे गलत बुझाइ सिर्जना हुन नदिन अपुष्ट सूचना फैलाउने तथा अनुमानका आधारमा टिप्पणी नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।