
दोहा, कतार : कतारमा रहेका रामेछापवासीको साझा संस्था रामेछाप सेवा समाज कतारद्धारा विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा आयोजात देउसीभैलो कार्यक्रममा नेपाली मौलिक कला, परम्परा र संस्कृतिको जीवन्त झल्को प्रस्तुत गरेका छन् । परम्परागत शैलीमा भट्याउँदै खेलिएको देउसीभैलोले कतारमा रहेका नेपालीलाई गाउँघरकै तिहारको अनुभूति गराएको थियो ।
शुक्रबार कतारको प्लाजा मलस्थित वेयलफेयर रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा कलाकार रेश्मी सेन्चुरी र देवी कँडेलले मौलिक शैलीमा देउसी भट्याउँदै सांस्कृतिक रौनक थपेका थिए । उनीहरूले कात्तिके दान संकलन मात्र गरेनन्, प्रवासमा नेपाली कला, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा समेत महत्वपूर्ण सन्देश दिएका थिए ।

कार्यक्रममा पुकार थापाले प्रस्तुत गरेको मौलिक मारुनी नृत्यले थप आकर्षण थपेको थियो । गायिका निशु मगरलगायत कतारमा रहेका विभिन्न कलाकारले नेपाली मौलिकता बोकेका गीतसंगीत प्रस्तुत गरेका थिए । देउसीभैलोबाट दुई हजार कतारी रियालभन्दा बढी रकम संकलन भएको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीले प्रवासमा नेपाली संस्कृति र चाडपर्वको संरक्षण गर्दै कतारको कानुन पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिए । उनले कतारमा कार्यरत नेपाली श्रमिकलाई समयमै श्रम नवीकरण गर्न तथा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनसमेत आग्रह गरे ।

रामेछाप सेवा समाज कतारका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष राजु थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधि, कलाकार, पत्रकार र रामेछापवासी नेपालीको उपस्थिति थियो । वक्ताहरूले विदेशमा रहेर पनि नेपाली मौलिक चाडपर्व र संस्कृतिलाई जीवन्त राख्ने यस्ता कार्यक्रमको प्रशंसा गरेका थिए ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष मगरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, संघसंस्थाका प्रतिनिधि, कलाकार, पत्रकार, सहयोगदाता, कार्यसमिति तथा शुभचिन्तकप्रति आभार व्यक्त गरे । आफ्नो पहिलो कार्यक्रम भए पनि सबैको साथ र सहयोगले सफल भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्तै साथ र सद्भावको अपेक्षा गरे । कार्यक्रमका क्रममा भएका कमीकमजोरी सुधार गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
कार्यक्रममा सांस्कृतिक संयोजक समन खनालले स्वागत मन्तव्य राखेका थिए भने महासचिव प्रकाश दर्नाल ‘शीतल’ले सहजिकरण गरेका थिए । कार्यक्रममा पञ्चेबाजा थप आकर्षणको केन्द्र बनेको थियो ।
