
काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज नेपाली मौलिक पोसाक ढाका टोपीमा सजिएर सिड्नीमा आयोजित ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ मा सहभागी भएका छन् ।
शनिबार सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा आयोजित महोत्सवमा सहभागी प्रधानमन्त्री अल्बानिजले नेपाली समुदायसँग तिहारको खुसी साट्दै अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपालीहरूको योगदानको प्रशंसा गरेका छन् ।
उनले अस्ट्रेलियाको विविधता नै देशको शक्ति भएको उल्लेख गर्दै नेपाली समुदाय त्यसको महत्त्वपूर्ण हिस्सा रहेको बताए । नेपाली कला, संस्कृति र सांस्कृतिक पहिचानप्रति सम्मान व्यक्त गर्दै उनले महोत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताएका हुन् । उनले सामाजिक सञ्जालमार्फत पनि महोत्सवमा सहभागी भएको अनुभव सार्वजनिक गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आयोजनामा सम्पन्न महोत्सवमा नेपाली कला, संस्कृति, परम्परा, भेषभूषा र मौलिक पहिचान झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुति राखिएका थिए । कार्यक्रममा नेपाली समुदायका साथै अस्ट्रेलियाली नागरिक र अन्य समुदायका व्यक्तिहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
तिहारको अवसर पारेर आयोजना गरिएको महोत्सवमा देउसीभैलो, नेपाली गीतसंगीत, नृत्य तथा विविध सांस्कृतिक कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको थियो । नेपालबाट पुगेका कलाकार तथा स्थानीय नेपाली कलाकारका प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाएका थिए ।
यस वर्षको महोत्सवमा नेपाल र अस्ट्रेलियाबीचको मित्रता तथा पारस्परिक सद्भावलाई समेत विशेष महत्त्व दिइएको थियो । नेपालमा पछिल्लो समय आएको बाढीका बेला अस्ट्रेलियाले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्ने कार्यक्रमसमेत आयोजकले समावेश गरेका थिए ।
अस्ट्रेलियाका प्रधानमन्त्री नेपाली मौलिक पोसाक ढाका टोपीमा सजिएर महोत्सवमा सहभागी हुनुलाई नेपाली समुदायको भाषा, संस्कृति र पहिचानप्रतिको सम्मानका रूपमा हेरिएको छ । महोत्सवले प्रवासमा रहेका नेपालीलाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्नुका साथै नेपाल र अस्ट्रेलियाबीचको जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।