
कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिका–६, बनकसियास्थित एक क्रेशर उद्योगभित्र रातिको समयमा सञ्चालन भइरहेको जुवाको अड्डामा लुम्बिनी प्रदेश प्रहरी टोलीले छापा मारेर ११ जनालाई पक्राउ गरेको छ । छापाका क्रममा २ लाख २० हजार ६९० रुपैयाँ नगदसहित तास र मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रकाश थापाले सञ्चालन गरेको जनप्रिय बालुवा प्रशोधन उद्योगको एक कोठाभित्र जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रदेश प्रहरी टोलीले गएराति करिब ११ः३० बजे छापा मारेको थियो ।
छापाका क्रममा तास खेलिरहेका ११ जना पक्राउ परेका छन् भने जुवा खेलाउने भनिएका उद्योग सञ्चालक प्रकाश थापा भने फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट २ लाख २० हजार ६९० रुपैयाँ नगद, ६ बुक तास, १२ थान टच मोबाइल र ३ थान किप्याड मोबाइल बरामद गरिएको छ ।
पक्राउ पर्नेमा बाणगंगा नगरपालिका–६, बनकसियाका ४० वर्षीय ज्ञानु चौधरी, बाणगंगा–२, पिपराका ३६ वर्षीय शंकर अर्याल, कपिलवस्तु नगरपालिका–९, कुस्माका ४१ वर्षीय अमृत पौडेल, बाणगंगा–५, कोपवाका ३३ वर्षीय जीवन विश्वकर्मा, बाणगंगा–६, भक्लापुरका ३१ वर्षीय चेतप्रसाद अर्याल, बाणगंगा–८, बोडगाउँका २२ वर्षीय अमित आचार्य, बाणगंगा–८, धोडेटोलका ३१ वर्षीय गणेश विक, बाणगंगा–११, हथौसाका २८ वर्षीय ईरफान अली, कपिलवस्तु नगरपालिका–९, कुस्माका ३१ वर्षीय मोहन सुनार, बाणगंगा–८, बोडगाउँका ३६ वर्षीय हिमाल पौडेल र बाणगंगा–६, भक्लापुरका २८ वर्षीय राजेश घर्ती रहेका छन् ।
यस घटनाले स्थानीय प्रहरीको नियमित निगरानी र गस्तीमाथि समेत प्रश्न उठाएको छ ।
स्थानीयका अनुसार जुवा खेलिएको स्थान इलाका प्रहरी कार्यालय पिपराबाट नजिकै रहेको छ । प्रहरी कार्यालयकै आसपास लामो समयदेखि जुवा खेल्ने गतिविधि हुँदै आएको दाबी गर्दै स्थानीयले स्थानीय प्रहरीबाट प्रभावकारी कारबाही नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
स्थानीयकै भनाइअनुसार इलाका प्रहरी कार्यालय पिपराबाट कारबाही नभएपछि अन्य प्रहरी टोलीलाई सूचना दिइएको थियो । त्यसपछि प्रदेश प्रहरी टोलीले छापा मारेर जुवाडेहरूलाई पक्राउ गरेको स्थानीयको दाबी छ ।
प्रहरी कार्यालय नजिकै रहेको क्रेशर उद्योगको कोठाभित्र जुवा खेल्ने गतिविधि सञ्चालन हुनु, छापा पर्दासमेत उद्योग सञ्चालक फरार रहनु तथा प्रदेश प्रहरी टोली आएर कारबाही गर्नुपर्ने अवस्थाले घटनालाई थप चासोको विषय बनाएको छ ।
उक्त जुवा गतिविधिबारे स्थानीय प्रहरीलाई पूर्वजानकारी थियो वा थिएन भन्ने विषयमा समेत स्थानीयले प्रश्न उठाएका छन् । प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।