२०८३ कार्तिक २१ गते शनिवार / Nov 07 , 2026 , Saturday
२०८३ कार्तिक २१ गते शनिवार

विदेशी श्रमिकमाथिको शोषण अन्त्य गर्न सम्बन्धित मन्त्रालयसँग छलफल गर्दै अनवर

Nada
तिलोचन गौतम
२०८३ कार्तिक २१ गते १७:१३
Shares
विदेशी श्रमिकमाथिको शोषण अन्त्य गर्न सम्बन्धित मन्त्रालयसँग छलफल गर्दै अनवर

क्वालालम्पुर : मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले देशमा विदेशी श्रमिकमाथि भइरहेको शोषण, अमानवीय व्यवहार र अत्यधिक भर्ती शुल्क असुल्ने गतिविधि अन्त्य गर्न सम्बन्धित मन्त्रालयहरूसँग विशेष छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री अनवरले आगामी एकदेखि दुई साताभित्र सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग बैठक गरी विदेशी श्रमिकका समस्याबारे छुट्टै छलफल गर्ने बताएका हुन् ।

विदेशी श्रमिकलाई अझै पनि शोषण गर्ने तथा मानव मर्यादाविपरीतको अवस्थामा राख्ने गतिविधि तत्काल नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । विशेषगरी श्रमिक भर्नाका नाममा विभिन्न एजेन्ट तथा गिरोहले अत्यधिक रकम असुल्ने गरेको विषयलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताए ।

मलेसियाका केही रोजगारदाताले विदेशी श्रमिकलाई अत्यन्तै दयनीय आवासमा राख्ने गरेको उल्लेख गर्दै अनवरले यस्तो अवस्था सय वर्षअघिको दासप्रथाको समयजस्तै देखिने टिप्पणी गरे ।

उनले भने, “केही रोजगारदाताले श्रमिकलाई लुकाएर दासजस्तै अवस्थामा राखेको देखिन्छ। उनीहरूलाई सय वर्षअघिको समयमा बाँचिरहेको जस्तो अवस्थामा राखिएको छ। म यस्तो अवस्था कुनै पनि हालतमा स्वीकार गर्न सक्दिनँ ।”

प्रधानमन्त्री अनवरले यहाँ आयोजित मलेसिया मडानी विद्वत् मञ्च (FIM) को कार्यक्रममा उक्त धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा खाद्य सुरक्षा तथा कृषि मन्त्री दातुक सेरी मोहम्मद साबु र एसडी गुथ्री समूहका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मोहम्मद हारिस मोहम्मद अरसाद पनि सहभागी थिए ।

आवश्यक क्षेत्रमा विदेशी श्रमिक भर्ना गर्न सकिने

प्रधानमन्त्री अनवरले मलेसियाका केही उद्योग तथा क्षेत्रमा अझै पनि विदेशी श्रमिकको आवश्यकता रहेको सरकारले स्वीकार गरेको बताए ।

विशेषगरी कृषि तथा पाम तेल उद्योगमा कामदार अभाव रहेकाले वास्तविक आवश्यकताका आधारमा विदेशी श्रमिक भर्नाका लागि प्राप्त हुने आवेदन सरकारले विचार गर्न सक्ने उनको भनाइ छ ।

पाम तेल उद्योगमा तेलपामका फल काट्ने तथा अन्य कठिन कामका लागि पर्याप्त श्रमिक उपलब्ध हुन नसकेको उनले उल्लेख गरे ।

तर विदेशी श्रमिक भर्नामा दिइने सम्भावित सहुलियतसँगै रोजगारदाताले विदेशी कामदारमाथिको निर्भरता घटाउनुपर्ने उनले स्पष्ट पारे । यसका लागि उद्योगमा यान्त्रीकरण (Mechanisation) र स्वचालन (Automation) प्रविधिको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ ।

भर्ती शुल्क र राहदानी नियन्त्रणमा कडाइ गरिने

अनवरले विदेशी श्रमिकमाथिको शोषणमा भर्ती एजेन्ट तथा विभिन्न सिन्डिकेटको भूमिका रहेको उल्लेख गर्दै उनीहरूले श्रमिकबाट अत्यधिक भर्ती शुल्क असुल्ने गरेको बताए ।

मलेसिया सरकारले विदेशी श्रमिक पठाउने विभिन्न देशसँग छुट्टाछुट्टै छलफल गरिरहेको र भर्ती लागत घटाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

उनले भने, “अहिले हामी विभिन्न देशसँग एक–एक गरी वार्ता गरिरहेका छौँ, ताकि विदेशी श्रमिक भर्नाको लागत घटाउन सकियोस्। भर्ती खर्च उचित र श्रमिकलाई आर्थिक भार नपर्ने खालको हुनुपर्छ ।”

केही एजेन्टले श्रमिकको तलबसमेत लिने र राहदानी नियन्त्रणमा राख्ने गरेको विगतका घटनालाई स्मरण गर्दै अनवरले यस्ता गतिविधिलाई आधुनिक दासत्वको संज्ञा दिए ।

“पहिले केही एजेन्टले श्रमिकको तलब लिने र राहदानीसमेत आफैँसँग राख्ने गरेका थिए। म यसलाई आधुनिक दासत्व भन्छु। यस्तो गतिविधिमा सरकार कुनै सम्झौता गर्न सक्दैन,” उनले भने ।

प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले मलेसियामा कार्यरत नेपालीसहित अन्य विदेशी श्रमिकको भर्ती शुल्क, आवास सुविधा, राहदानी सुरक्षा र रोजगारदाताबाट हुने व्यवहारका विषयमा सरकारले थप चासो दिन सक्ने संकेत गरेको छ ।

स्रोत : मलेसियाली सञ्चारमाध्यम

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर