
काठमाडौं : लमजुङ–बालाजु समाजको दोस्रो वार्षिक साधारणसभा देउसीभैलो, नाचगान तथा सांस्कृतिक कार्यक्रमसहित शनिबार सम्पन्न भएको छ ।
लमजुङका संघीय सांसद धर्म केसीको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले समाजका सचिव मधु विलास बरालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शिवजी पाण्डेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

लमजुङ जन्मथलो भई राजधानीका बनस्थली, बालाजु र गोंगबु आसपास विभिन्न पेसा, व्यवसाय, रोजगारी तथा समाजसेवामा संलग्न भई बसोबास गर्दै आएका व्यक्तिहरूलाई एकत्रित गर्ने उद्देश्यले समाज स्थापना गरिएको हो । गैरराजनीतिक तथा गैरनाफामूलक संस्थाका रूपमा स्थापित समाजले लमजुङको विकासमा सक्दो सहयोग पुर्याउने, लमजुङे लोकसंस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने र विभिन्न दैवी तथा प्राकृतिक प्रकोपबाट पीडित भएकाहरूलाई सहयोग गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रमको उद्घाटन मन्तव्य राख्दै सांसद केसीले लमजुङेहरूको एकता र क्षमताबाट मात्रै लमजुङको विकास सम्भव हुने बताए । उनले सामाजिक एकता र सहकार्यले जिल्लाको विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने धारणा व्यक्त गरे ।
कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष विनोद अधिकारीले विशुद्ध सामाजिक भावनाले संस्थाको स्थापना गरिएको उल्लेख गर्दै समाजले विगतमा गरेका गतिविधि र आगामी कार्यदिशाबारे प्रकाश पारेका थिए ।

समाजका उपाध्यक्ष सुरेन्द्रमान घलेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पूर्वाधार विकास मन्त्रालयका सहसचिव रविन्द्र बोहरा, नेपाली सेनाका अवकाश प्राप्त उपरथी तथा संस्थाका संस्थापक आजीवन सदस्य निरञ्जन श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उनीहरूले दीपावली, नयाँ नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै संस्थाको आकारलाई विवादित नबनाई अझ फराकिलो र समावेशी बनाउनुपर्ने सुझाव दिएका थिए ।
त्यस्तै, समाजका सल्लाहकार तथा अवकाश प्राप्त उपरथी डा. आशबहादुर तामाङले देउसीभैलोको महत्व र लमजुङको लोकसंस्कृतिबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा नयाँ आजीवन सदस्य तथा साधारण सदस्यहरूलाई स्वागत तथा सम्मान गरिएको थियो । सभाको अन्त्यमा देउसीभैलो खेलिएको थियो । उक्त देउसीभैलोबाट संस्थालाई करिब पौने लाख रुपैयाँ संकलन भएको अध्यक्ष अधिकारीले मध्यान्हलाई जानकारी दिए ।