
दुबई : विदेशी भूमिमा नेपाली धर्म, संस्कार र सनातन संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य बोकेका संस्थाहरूले आयोजना गर्ने धार्मिक कार्यक्रमको मर्यादा र व्यवस्थापनमाथि प्रश्न उठेको छ ।
दुबईमा आज सनातन गौ संरक्षण अभियान युएई, हिन्दू जागरण नेपाल शाखा युएई र श्री वैष्णव परिषद् युएईको संयुक्त आयोजनामा सम्पन्न धार्मिक कार्यक्रम नाइट क्लब सञ्चालन हुने हलमा आयोजना गरिएको थियो । कार्यक्रमस्थलभित्रै रहेको बार क्षेत्र खुला अवस्थामा देखिएपछि धार्मिक कार्यक्रमको व्यवस्थापन र आयोजकहरूको संवेदनशीलतामाथि प्रश्न उठेको हो ।
कार्यक्रमका क्रममा मदिरा बिक्री भएको देखिएको थिएन । तर धार्मिक गतिविधि सञ्चालन भइरहँदा बार क्षेत्रलाई पर्दा वा अन्य माध्यमबाट छोपेर अलग नराखिएको दृश्यले धेरैको ध्यानाकर्षण गराएको छ ।
धार्मिक कार्यक्रम आयोजना गर्नु केवल पूजापाठ, भजनकीर्तन र धार्मिक अनुष्ठान सम्पन्न गर्नु मात्र होइन । त्यसको वातावरण, स्थलको छनोट र समग्र व्यवस्थापनले पनि धार्मिक आस्था र मर्यादा झल्काउनुपर्छ ।
विदेशी भूमिमा नेपाली मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले स्थापित संस्थाहरूले यस्ता विषयमा थप संवेदनशीलता अपनाउन आवश्यक देखिन्छ ।
यदि अन्य उपयुक्त स्थल उपलब्ध नभएको अवस्थामा बार सञ्चालन हुने हल प्रयोग गर्नुपर्ने बाध्यता थियो भने पनि धार्मिक कार्यक्रम अवधिभर बार क्षेत्रलाई पूर्ण रूपमा छोपेर अलग राख्न सकिन्थ्यो । धर्म र संस्कृतिको संरक्षणको नारा मात्र पर्याप्त हुँदैन, व्यवहार र व्यवस्थापनमा पनि त्यसको प्रतिबिम्ब देखिनुपर्छ ।