२०८३ कार्तिक २३ गते सोमवार / Nov 09 , 2026 , Monday
२०८३ कार्तिक २३ गते सोमवार

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

Nada
२०८३ कार्तिक २३ गते १०:२५
Shares
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

रसुवा : भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् ।

भोटेकोशी नदीमा आएको बाढीका कारण गाउँको तल्लो भागबाट तीव्र कटान हुन थालेपछि हाकुबेँसी गाउँ पूर्ण रूपमा जोखिममा परेको स्थानीय निमाकैसाङ तामाङले बताए। उनका अनुसार बाढी गएको लामो समय भइसक्दा पनि भूबनोट कमजोर भई पहिरो खस्ने क्रम जारी रहेकाले सुरक्षित स्थानमा स्थानान्तरणका लागि प्रमुख जिल्ला अधिकारीमार्फत समुदायको लिखित माग बुझाइएको छ । बाढी र कटानका कारण गाउँमा रहेको एक विद्यालय र प्रहरी चौकी पनि संकटमा परेका छन् ।

आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बाढी र पहिरोका कारण जोखिममा परेका नागरिकलाई सरकारले सुरक्षित आवासको अधिकार प्रत्याभूत गराउनुपर्ने बताउँदै जोखिमयुक्त बस्तीलाई तत्काल अन्यत्र सार्नुको विकल्प नरहेको उल्लेख गरे।

यसैबीच, भोटेकोशी बाढीका कारण सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिहरूको विवरण यकिन गर्ने सम्बन्धमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । बैठकले रसुवाका स्थानीय तहका वडा कार्यालयमा प्राप्त निवेदनका आधारमा सम्बन्धित स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले गरेको निर्णयलाई अनुमोदन गरी विस्तृत विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारमा सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जोखिममा परेका बस्तीको विषयमा भूगर्भविद्हरूले स्थलगत अध्ययन गरेपछि मात्रै स्थानान्तरणको ठोस निर्णय लिइने जानकारी दिए । बाढीमा बेपत्ता तथा सम्पर्कविहीन नागरिकको वडा तहबाट प्राप्त निवेदनका आधारमा केन्द्रमा सिफारिस गर्ने प्रक्रिया अघि बढिसकेको उनले बताए ।  

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर