
काठमाडौं : नेपाल प्रहरीले तिहार तथा छठ पर्व लक्षित देशभरको सुरक्षा व्यवस्था कडा र चुस्त बनाएको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण र नागरिकको सुरक्षाका लागि प्रहरीले थप ५० हजार जनशक्ति परिचालन गरेको नेपाल प्रहरीको दाबी छ ।
तिहारदेखि छठको भोलिपल्टसम्म प्रहरीको सुक्ष्म निगरानीलाई कडा पारिएको नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) एवम् केन्द्रीय प्रहरी प्रवक्ता अबि नारायण काफ्लेले बताए । तिहार तथा छठ पर्वमा हुन सक्ने सुरक्षा चुनौतिलाई हेरेर नियमित भन्दा थप ५० हजार चार सय जनशक्ति परिचालन गरेको उनले जानकारी दिए । ‘दसैँदेखि नै लागू गरिएको सुरक्षा योजनालाई तिहारका लागि थप परिमार्जन गर्दै कडाइका साथ कार्यान्वयनमा ल्र्याएको छ,’ उनले भने, ‘दसैं भन्दा तिहारको शान्ति सुरक्षा चुनौति बढी हुनेभएकाले हामीले थप प्रहरी परिचालन गरी चुस्त व्यवस्थापन गरेका छौं ।’ प्रहरीले असोज २१ गतेदेखि सञ्चालनमा रहेको सुरक्षा योजनाअन्तर्गत प्रदेश, जिल्ला तथा काठमाडौँ उपत्यकामा कमाण्ड पोस्ट स्थापना गरी सुरक्षा गतिविधि सञ्चालन गरिरहेको छ ।
प्रहरी प्रधान कार्यालयले जिल्ला सुरक्षा समितिका निर्णय तथा स्थानीय सुरक्षा चुनौतीलाई आधार बनाएर कार्ययोजना तयार गरी मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।
सोहीअनुसार सम्बन्धित जिल्लाले आफ्नो क्षेत्रको अवस्थाअनुसार थप सुरक्षा गतिविधि समेटेर योजना कार्यान्वयन गरिरहेका छन् ।
तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, मादक पदार्थ सेवन, झैझगडा, आगलागी तथा पटका र तास जुवाजन्य गतिविधि नियन्त्रण गर्नुपर्ने प्रहरीले सुरक्षा योजनामा राखेको छ । चाडपर्वलाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन जिल्ला सुरक्षा समितिसँगको समन्वयमा सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।
तिहारका बेला देउसीभैलो, मेला तथा अन्य सांस्कृतिक गतिविधिका क्रममा हुनसक्ने जुवातास, मादक तथा लागुपदार्थ सेवन, होहल्ला र झैझगडा नियन्त्रण गर्न विशेष निगरानीका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । सुरक्षा निगरानीका लागि सीसीटीभी, बडी वार्न क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुर प्रयोग गरिने प्रहरीले जनाएको छ । भिडभाड हुने मेला तथा सार्वजनिक स्थानमा ५० भन्दा बढी ड्रोनमार्फत निगरानी गरिएको प्रहरी प्रवक्ता काफ्लेले बताए । त्यस्तै, विभिन्न स्थानमा गस्ती, पेट्रोलिङ, चेकप्वाइन्ट, कमान्ड पोस्ट तथा आकस्मिक जाँचलाई कडाई करिएको छ । पटका, भुइँचम्पा, झिरझिरेलगायत विस्फोटक पदार्थको आयात, बिक्रीवितरण र प्रयोग नियन्त्रण गर्न सीमा तथा भन्सार क्षेत्रमा निगरानी कडा पारिएको प्रवक्ता काफ्लेले बताए । यस्ता गतिविधि शून्यमा झार्ने लक्ष्यसहित प्रहरी परिचालन गरिएको उनको भनाइ छ । ‘तिहार हाम्रो सांस्कृतिक, सामाजिक सद्भाव र पारिवारिक एकताको पर्व हो । क्षणभरको मनोरञ्जनका लागि पटका पड्काउँदा कसैको जीवनभरको खुसी खोसिन सक्छ । त्यसैले पटका नपड्काउन र त्यस्ता सामग्री भित्रिएको वा प्रयोग भएको सूचना पाएमा प्रहरीको १०० नम्बरमा खबर गर्न अनुरोध गर्दछु,’ उनले भने ।
यातायात व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका लागि सवारीसाधन छुट्ने स्थानमै चालकको अनुमतिपत्र, मादक तथा लागुपदार्थ सेवन गरे–नगरेको जाँच गर्ने कार्यलाई तीब्रता दिइएको छ । सवारीसाधनको यान्त्रिक अवस्था परीक्षणलाई प्राथमिकता दिइएको छ भने लामो दूरीका सवारीसाधनमा दुईजना चालक अनिवार्य राख्ने व्यवस्थाको निगरानी गरिने प्रहरीले जनाएको छ ।
यात्रुको सहजताका लागि देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सीमावर्ती क्षेत्रबाट स्वदेश फर्किने नेपाली नागरिक ठगी तथा लुटपाटमा नपरून् भन्ने उद्देश्यले थप १०८ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको प्रवक्ता काफ्लेले बताए । तिहारमा घर खाली गरेर बाहिर जाने नागरिकलाई घरको सुरक्षामा विशेष ध्यान दिन प्रहरीले आग्रह गरेको छ । लामो समय घर खाली रहने जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न, नजिकको प्रहरी कार्यालय र छिमेकीलाई जानकारी गराउन, बहुमूल्य सामान तथा गरगहना घरमा नराख्न र सम्भव भएसम्म सीसीटीभी जडान गर्न प्रहरीले सुझाव दिएको छ । आगलागी, दुर्घटना तथा अन्य विपद्का सम्भावित घटनालाई तत्काल सम्बोधन गर्न प्रहरीका क्विक रेस्पोन्स टिम (क्यूआरटी) तथा सीआरभी टोली तयारी अवस्थामा राखिएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सुरक्षालाई समेत विशेष प्राथमिकता दिइएको प्रहरी प्रवक्ता काफ्लेले बताए ।