
तिहारलाई उज्यालो पर्व पनि भनिन्छ । फूलको सुगन्ध, सयपत्री र मखमलीको माला, घरआँगनमा झिलिमिली बत्तीले वातावरण मनमोहक बनाउँछ । देउसीभैलोको गुञ्जन र दिदीबहिनी तथा दाजुभाइबीचको आत्मीयताले तिहारलाई विशेष बनाउँछ । नेपालीका प्रमुख चाडमध्ये दोस्रो ठूलो पर्व तिहार धार्मिक आस्था, सांस्कृतिक परम्परा, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावको अनुपम संगम पनि हो । त्यसैले तिहार रमाइलोसँगै सम्बन्ध नवीकरण गर्ने र खुसी साटासाट गर्ने पर्व हो । यमपञ्चकका पाँच दिनले प्रकृति, जीवजन्तु र मानिसबीचको सम्बन्धलाई स्मरण गराउँछ । काग, कुकुर, गाई र गोरुको पूजा गर्द मानव जीवनमा तिनको महत्व र योगदानप्रति सम्मान प्रकट गरिन्छ । लक्ष्मीपूजामा घरआँगन उज्यालो पार्दै समृद्धिको कामना गरिन्छ । देउसीभैलोले समुदायबीचको सम्बन्ध बलियो बनाउँछ । सेलरोटी, फूलमाला र भाइमसलाले पर्वको रौनक थप्छ । अन्तिम दिनको भाइटीकाले दिदीबहिनी र दाजुभाइबीचको प्रेम, विश्वास र जिम्मेवारीलाई अझ प्रगाढ बनाउँछ ।
तर रमाइलोका नाममा जुवातास खेल्ने, ठूलो धनराशिको बाजी राख्ने, मादक पदार्थ सेवन गरेर होहल्ला र झैझगडा गर्ने प्रवृत्ति पनि देखिने गर्दछ । देउसीभैलोका नाममा जबर्जस्ती पैसा माग्ने, राति अबेरसम्म चर्को आवाजमा गीतसंगीत बजाएर अरूको शान्ति भंग गर्ने र पटका पड्काएर त्रास फैलाउने काम संस्कृति संरक्षण होइन । परम्पराका नाममा विकृतिलाई निरन्तरता दिनु उचित हुँदैन । तिहारमा पटका र विस्फोटक पदार्थको प्रयोगले आगलागी, चोटपटक र वातावरण प्रदूषणको जोखिम पनि बढाउँछ । ठूलो आवाजले बालबालिका, ज्येष्ठ नागरिक र पशुपन्छीलाई समेत असर गर्छ । चाडपर्वमा किनमेल र यात्राको चाप पनि बढ्छ । मिठाई तथा खाद्य सामग्रीको गुणस्तर ख्याल नगरे समस्या आउन सक्छ । यसकारण मादक पदार्थ सेवन गरेर सवारी नचलाऔं, तीव्र गति र लापरबाहीबाट बचौं । भिडभाडमा पर्स, मोबाइल र गरगहना जोगाऔं । घर खाली रहेको वा यात्रामा निस्किएको विवरण सामाजिक सञ्जालमा नराखौं । बालबालिकालाई आगो, पटका र सडकको जोखिमबाट सुरक्षित राखौं ।
नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर ५० हजार ४५८ प्रहरी परिचालन गरेको छ । यात्रु सुरक्षाका लागि ४०८ स्थानमा सहायता कक्ष स्थापना गरिएको छ । यो तयारीसँगै नागरिकको सचेतना र जिम्मेवारी पनि उत्तिकै आवश्यक छ । कुनै शंकास्पद गतिविधि वा आपराधिक क्रियाकलाप देखिए प्रहरीलाई खबर गरौँ । तिहारको खुसी महँगा उपहार, तडकभडक र देखासिकीमा होइन, परिवारसँग बिताएको समय, दिदीबहिनीसँगको आत्मीयता, छिमेकीसँगको सद्भाव र एकअर्काप्रतिको सम्मानमा छ । आफू रमाइलो गर्दा अरूलाई दुःख नदिऔं । आफ्नो खुसीका लागि अरूको शान्ति र सुरक्षामा आँच नपु¥याऔं । घरमा दियो बालौँ, मनमा प्रेम जगाऔं । संस्कृति जोगाऔं, विकृति त्यागौँ । तिहारको उज्यालोले घरआँगनसँगै आम नेपालीको सोच, व्यवहार र सामाजिक सम्बन्धलाई थप उज्यालो बनाओस् । दिपावलीको सबै–सबैमा हार्दिक शुभकामना ।