२०८३ कार्तिक २३ गते सोमवार / Nov 09 , 2026 , Monday
२०८३ कार्तिक २३ गते सोमवार

मदरसा शिक्षाको गुणस्तरीयता र एकरूपताका लागि रौतहटमा विशेष समिति गठन

Nada
इसत्याक अहमद
२०८३ कार्तिक २३ गते १६:१५
Shares
मदरसा शिक्षाको गुणस्तरीयता र एकरूपताका लागि रौतहटमा विशेष समिति गठन

रौतहट : नेपालमा सञ्चालित मदरसा इस्लामिया अरबियाको शैक्षिक तथा प्रशिक्षण प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले रौतहटको सदरमुकाम गौरमा महत्वपूर्ण बैठक सम्पन्न भएको छ । बैठकले मदरसा शिक्षाको संरक्षण, सुरक्षा, परीक्षा प्रणालीमा एकरूपता तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा विशेष जोड दिँदै रौतहट जिल्ला समिति पनि गठन गरेको छ ।

गौर नगरपालिका–स्थित दोस्तिया टोल, बालमन्दिर पछाडि रहेको छुट्टी मस्जिदमा राब्ता मदारिस इस्लामिया अरबिया नेपालका अध्यक्ष मौलाना मोहम्मद शौकत अली कासमी मदनीको निर्देशन तथा अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लाका विभिन्न मदरसाका सञ्चालक, जिम्मेवार पदाधिकारी तथा प्रतिष्ठित उलेमाहरूको सहभागिता रहेको थियो ।

बैठकमा भारतको प्रसिद्ध इस्लामिक शिक्षण संस्था दारुल उलूम देवबन्दको मार्गदर्शनअनुसार सञ्चालित राब्ता मदारिस इस्लामिया अरबियाको उद्देश्यअनुरूप मदरसा शिक्षालाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष मौलाना मोहम्मद शौकत अली कासमी मदनीले सबै मदरसाको परीक्षा प्रणालीमा एकरूपता, पाठ्यक्रममा समानता र परीक्षा सञ्चालनमा सामूहिक समन्वय आवश्यक रहेको बताए । उनले परीक्षाका समयमा सबै मदरसामा एउटै समयतालिका र व्यवस्थित परीक्षा प्रणाली लागू गर्नुपर्ने धारणा व्यक्त गरे ।

त्यसैगरी मदरसा शिक्षाप्रति देखिएका चुनौती तथा गलत दृष्टिकोणलाई ध्यानमा राख्दै मदरसा र त्यहाँ अध्ययनरत विद्यार्थीहरूको सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने विषयमा पनि छलफल भएको थियो । शिक्षकहरूको उचित व्यवस्थापन र पारिश्रमिकको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै नयाँ फाजिल (स्नातक) गरेका शिक्षकहरूलाई प्रोत्साहन गर्न मदरसा सञ्चालकहरूलाई आग्रह गरिएको थियो ।

मदरसा नदाये मिल्लत, भसहाका प्रधानाध्यापक तथा राब्ता मदारिस इस्लामिया अरबिया रौतहटका नवनिर्वाचित अध्यक्ष मौलाना मोहम्मद वसीउल्लाह कासमीले मदरसाहरूले गुणस्तरीय शिक्षा तथा प्रशिक्षण प्रणालीमा विशेष ध्यान दिनुपर्ने बताए । शैक्षिक गुणस्तर वृद्धि गर्न सबै मदरसा सञ्चालक तथा जिम्मेवार व्यक्तिहरूले आपसी सहकार्य र समन्वयलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

रौतहट जिल्ला समिति गठन

बैठकका क्रममा राब्ता मदारिस इस्लामिया अरबिया नेपालअन्तर्गत रौतहट जिल्ला समिति गठन गरिएको छ । नवगठित समितिमा मौलाना मोहम्मद वसीउल्लाह कासमी, मौलाना अजीजुर रहमान कासमी र मौलाना अनवरुल हक कासमी लगायतका व्यक्तिहरू समावेश छन् ।

समितिले जिल्लाभर सञ्चालित मदरसाहरूको शैक्षिक तथा प्रशिक्षण प्रणालीको समय–समयमा अनुगमन र मूल्याङ्कन गर्ने, आवश्यक सुझाव तथा मार्गदर्शन प्रदान गर्ने र शैक्षिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन समन्वयकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएको छ ।

उलेमाहरूको सहभागिता तथा सुझाव

बैठकमा जमिअत उलमा-ए-नेपालका नाजिम मौलाना मोहम्मद इजराइल मजाहिरी, मजलिस तहफ्फुज खतम–ए–नुबुव्वत नेपालका अध्यक्ष मौलाना मोहम्मद सफिकुर रहमान कासमी, राब्ता मदारिस इस्लामिया अरबिया नेपालका महासचिव मौलाना मोहम्मद हारुन मदनी, जमिअत उलमा-ए-नेपालका महासचिव मौलाना मुफ्ती मोहम्मद शमीम अख्तर कासमी मक्की, जमिअत उलमा रौतहट नेपालका कार्यवाहक अध्यक्ष मौलाना मोहम्मद जव्वाद आलम मजाहिरी, केन्द्रीय सदस्य मौलाना मोहम्मद दरख्शिद अनवर, मौलाना अजीजुर रहमान कासमी, कारी मोहम्मद इस्राफिल, मौलाना नुरुल इस्लाम कासमी लगायतका उलेमाहरूले आफ्ना विचार तथा सुझाव प्रस्तुत गरेका थिए ।

त्यसैगरी मौलाना सफिकुर रहमान, मौलाना मोहम्मद जवाद, मुफ्ती शमीम अहमद, मुफ्ती इमामुल हक लगायत जिल्लाका विभिन्न मदरसाका सञ्चालक, प्रतिनिधि तथा दर्जनौँ उलेमाहरूको उपस्थिति रहेको थियो ।

बैठकमा सहभागी उलेमाहरूले मदरसा शिक्षाको संरक्षण र सुरक्षा, विद्यार्थीहरूको हित, शिक्षकहरूको उचित व्यवस्थापन, परीक्षा प्रणालीमा एकरूपता तथा शैक्षिक गुणस्तर सुधारका लागि संस्थागत सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर