२०८३ कार्तिक २२ गते आइतवार / Nov 08 , 2026 , Sunday
२०८३ कार्तिक २२ गते आइतवार

परदेशको तिहार, नयाँ पुस्ताको नेपाल

Nada
ध्रुव थापा
२०८३ कार्तिक २२ गते ०९:०६
Shares
परदेशको तिहार, नयाँ पुस्ताको नेपाल

उता आमाको आँगन सयपत्री र दियोले झिलिमिली छ,
यता परदेशको झ्यालमा बत्ती छ, तर मनमा गाउँको झझल्को छ।
फोनमा आमाको स्वर आउँछ, “बाबु, दियो बाल्न नबिर्सनू है!”
म कार्यालयको घडी हेर्छु, तिहारको साँझ चुपचाप ढल्दै छ।

उता सयपत्री फुल्छ, देउसीले आँगन गुञ्जाउँछ,
यता त्यही पुरानो भाकाले बाल्यकाल ब्युँझाउँछ।
कागको सन्देश, कुकुरको निष्ठा, गाईप्रतिको सम्मान,
तिहारले सिकाउँछ प्रकृतिप्रेम र आत्मीयताको ज्ञान।

आफ्ना सन्तानलाई संसारको नक्सा सिकायौँ, तर गाउँको गोरेटो देखाउन सकेनौँ,
सुनौलो भोलि खोज्दा आफ्नै चाड सँगै मनाउन सकेनौँ।
यहाँ शनिबार परे उत्सव, सोमबार परे सम्झना,
कामको घडीमै अल्झिन्छ भाइटीकाको पवित्र कामना।

दिदीको थालीमा सप्तरङ्गी टीका, मखमली माला सजिन्छ,
तर सात समुद्रपारि भाइको निधार रित्तै रहन्छ।
“यसपालि पनि आइनस् है भाइ?” दिदीको स्वर भक्कानिन्छ,
“अर्को साल पक्कै,” भन्दै भाइको बोली पनि अड्किन्छ।
वर्ष फेरिन्छ, वाचा दोहोरिन्छ, प्रतीक्षा मेटिँदैन,
पर्दामा मुहार देखिए पनि आत्मीय स्पर्श भेटिँदैन।

हामी अनौठा माली हौँ, जरा नेपालमा, हाँगा परदेशमा,
सन्तान अङ्ग्रेजीमा सपना बुन्छन्, हामी नेपाली सम्झनामा।
उनीहरूको भोलि आफ्नै होस्, तर पुर्खाको चिनारी नमेटियोस्,
नयाँ आकाशमा उड्दा पनि आफ्नो माटोको सुवास नहराओस्।

आज छोरो देउसीको भाका समाउँदै भन्छ, “देउसी रे!”
उसको लवज फरक छ, तर स्वरमा आफ्नोपन झल्किन्छ।
म सम्झनाको दियो बाल्छु, ऊ त्यसैबाट उज्यालो रोज्छ,
परदेशको सानो आँगनमा फेरि सिङ्गो नेपाल मुस्कुराउँछ।

क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका

laxmi recruitement

सम्बन्धित खबर