
तिमी हाँस – तत्काल हाँसीहाल
अहिले नै तिमी हाँसेनौ भने,
चुट्कीला र तिम्रो हाँसो दुवै असान्दर्भिक हुनेछन् ।
असान्दर्भिक हाँसो सबैभन्दा डर लाग्दो हुन्छ
धेरै धेरै मानिसहरु अचेल
अनेक असान्दर्भिक जोकहरुमा फसेर
रुन अभिसप्त छन् ।
तिमी रोउ – तत्काल रोइहाल
अहिले नै तिमी रोएनौ भने,
दुःख र तिम्रो आँसु दुवै असान्दर्भिक हुनेछन् ।
रोइसकेको मानिस सबैभन्दा बलियो देखिन्छ
तर झन बलवान हुन्छन् – दुःख देखाउने मानिसहरु
र आँसुको मसिले लेखिएका महाकाव्यहरु
कहिल्यै असान्दर्भिक हुँदैनन्
तिमीले लेख – तत्काल लेखिहाल
अहिले नै तिमीले लेखिनौ भने,
विचार र तिम्रो अक्षरहरु दुवै असान्दर्भिक हुनेछन् ।
असान्दर्भिक विचार जति खतरनाक हुन्छ
त्यति नै कुरुप हुन्छन् – विचारविहिन निरस अक्षरहरु
जसरी मानिसहरु विर्सन्छन् नागरिक हुनुको मूल्य
त्यसपछि रुपान्तरण हुन्छन् भीडमा र मर्छन् ।
तिमी मर – तत्काल मरिहाल
अहिले नै तिमी मरेनौ भने,
यो समाज र तिम्रो मृत्यु दुवै असान्दर्भिक हुनेछन् ।