२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन खुला सत्संग

मध्यान्ह
२०८२ जेठ ४ गते २०:५४
आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन खुला सत्संग

ललितपुर : आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित  ललितपुरमा बृहत् खुला सत्संग कार्यक्रम सम्पन्न भएको छ । 

सन्त निरंकारी मिसन नेपालको आयोजनामा नमूना मच्छिन्द्र माध्यमिक विद्यालय प्राङ्गण, लगनखेलमा भएको कार्यक्रममा वक्ताहरूले विश्व बन्धुत्व, शान्ति, प्रेम र मानव एकताका लागि आध्यात्मिक मार्ग निर्विकल्प रहेको जिकिर गरे ।  

कार्यक्रमका प्रमुख वक्ता एवं ज्ञान प्रचारक महात्मा रविन्दर बडोनीले मानव समाज विभिन्न धर्म, सम्प्रदाय, जातजाति र पहिचानका नाममा निर्मित पर्खालले घेरिएको भन्दै पर्खालरहित संसार बनाउन आध्यात्मिक ज्ञान र चेतना अपरिहार्य रहेकामा जोड दिए । 

सन्त निरंकारी मिसन यही अभियानसहित मानव कल्याण र बन्धुत्वको सन्देश फैलाउन लागिरहेको भन्दै उनले कुनै पनि धर्मले तोड्ने नभई हरेक मानव समाजलाई जोड्नुपर्ने धारणा राखे ।‘धर्मको काम जोड्ने हो, परोपकार र मानव कल्याणका खातिर योगदान गर्ने हो । हाम्रा सबै अग्रज, धर्मग्रन्धले पनि परोपकार नै परमोधर्म भनेका छन्, महात्मा बडोनीले भने, ‘त्यसविपरीत हामी भने प्रथा, परम्परा, धर्म, संस्कृतिका नाममा पर्खाल बनाइरहेका छौँ । मानवदेखि मानवलाई टाढा बनाइरहेका छौँ । अरूको अधोगतिमा आफ्नो हित देखिरहेका छौँ । यसैविरुद्ध आध्यात्मिक ज्ञान जरुरी छ, जो काम हाम्रो मिसनले गरिरहेको छ ।’

प्रतिनिधिसभा सांसद रञ्जु झा ठाकुरले पछिल्लो समय हरेक मानिसले शान्ति र प्रेमको कामना गरिरहे पनि सोअनुसारको मार्ग नअपनाउँदा समस्या भइरहेको बताइन् । उनले ब्रह्मको प्राप्ति नै सबै प्रकारका भ्रम समाप्तिको आधार भएकाले हरेक मान्छेले आध्यात्म र ज्ञानको मार्ग रोज्नुपर्नेमा जोड दिइन् । 

कार्यक्रममा मिसनका नेपाल उपाध्यक्ष कृष्णबहादुर पन्त, सचिव अनिल महर्जन, काठमाडौं क्षेत्रका क्षेत्रीय सञ्चालक बाबुराज महर्जन, महात्मा ध्रुव अधिकारी, भरत वड, राधव ठाकुरलगायतले प्रवचन र भजनमार्फत सत्संग, मानव कल्याण, सामाजिक उत्तरदायित्व र ब्रह्म ज्ञानका विषयमा चर्चा गरेका थिए । 

मिसनका तत्कालीन प्रमुख निरङ्कारी बाबा हरदेव सिंहको सन् २०१६ मे १३ का दिन निधन भएको सन्दर्भ पारेर हरेक वर्ष ‘समर्पण दिवस’ मनाइने गरिएको छ । दिवसका सन्दर्भमा नेपाल र भारतलगायत विश्वभर रहेका उनका अनुयायीले यस्तै विविध कार्यक्रम गरी स्मरण गर्ने गरेका महात्मा ध्रुव अधिकारीले जानकारी दिए । 

कार्यक्रममा ललितपुर महानगरपालिका–२९ का वडाध्यक्ष गणेशकुमार महर्जन, विभिन्न सामाजिक तथा आध्यात्मिक संस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर