–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
देशमा पानी र राजनीति दुवै अशुद्ध छन् । पानी बगेर विदेश जाने, युवा हुत्तिएर विदेश जाने, राजनीति उडेर विदेशबाट आउने अनौठो चलन छ यहाँ ।
मार्च लाग्नासाथ पानी दिवसको कुरो आउँछ, दिवसकै दिन घरका धारामा पानी आउँदैन । २२ मार्च पानी दिवस तर राजनीतिक दिवस जस्तै छ यो पनि । मेलम्ची फुटेर शहरै बगाउने, पूर्वाधारको अतिकमजोरी र वर्षाको पानीले देशै बगाउने अचम्मको विकास नीति पनि छ हामीसँग ।
राजनीतिकर्मीहरू आजीवन देश दोहन गर्न उद्यत छन् र चुरे दोहन गरेर पानीको मुहान सुकाउन पनि । चुरे संरक्षणमा अर्बौं अर्ब राज्यले खर्चेको छ तर पानीको रिचार्ज प्रणालीमा अवरोध छ । माटो, ढुंगा, गिट्टी बेचेर वैध अवैध राजमार्गमा क्रसर उद्योग चलाउनुपरेको छ । मान्छे बेचेर मोटो रकम लिन र संसारकै विप्रेषणमा अब्बल देश भनिरहँदा अब्बल दर्जाको यहाँको जलको सदुपयोग गरिएको छैन ।
जति पानी प्रदूषित छ, त्यति नै वातावरण पनि र संसारकै अब्बल प्रदूषित शहर काठमाडौं भनिँदै छ । अथाह जल भण्डार छ यहाँ तर बिजुली आयात हुन्छ र लोडसेडिङ यहाँकाले होइन, विदेशीले अन्त्य गरेको भनिन्छ । यहाँका पानीका मुहान सुकेझैं अब राजनीतिक मुहान पनि सुक्न लागेको देखिन्छ ।
विदेशीका फोटो राखेर नेपालीहरूलाई ढाँट्ने प्रथा अब त रोकिए राम्रो । यूएसएडसँग धेरै परियोजनाहरू रहेछन्, उताको देशले ‘फ्रड’ भनिसकेपछि एमसीसीलगायत अन्य सहयोगका मुहान अब सुक्ने सम्भावना बढेको छ । हतकडी र चेन लगाएर नेपाली फर्कंदा पनि नचेत्ने हामी कस्ता हौंला त !
हाल विश्वका २७ प्रतिशत मानिस पिउने सफा पानीबाट बञ्चित छन् भने ४३ प्रतिशत मानिस सरसफाइबाट बञ्चित छन् । विश्वका करिब आधा मानिसले वर्षमा १ महिना पानीको अभावबाटै जीवन गुजारा गर्दै छन्, सफा पानीको अभावमा झाडापखालाका कारण बर्सेनि ८ लाखको ज्यान जाने गरेको युनिसेफले जनाएको छ ।
स्वच्छ पानीको अभावमा दैनिक १ हजार र वर्षमा ५ लाख बालबालिकाको ज्यान जाने गरेको छ, जसमा धेरै न्यून र मध्यम आय भएका राष्ट्रहरू नै परेका छन् । यूएनका विज्ञहरूले भन्ने गरेका छन्– हरेक १ डिग्री तापक्रम बढ्दा नवीकरणीय जलस्रोतमा २० प्रतिशतले कमी आउँछ ।
अहिले सबैतिर जलाशयको संकट छ । १ जना मानिसले खपत गर्ने उपभोग्य खाद्यान्न उत्पादनका लागि करिब ५ हजार लिटर पानीको आवश्यकता पर्छ, भनौं, विश्वको ७० प्रतिशत पानी कृषि कार्यमा खपत हुन्छ, ११ प्रतिशत अन्य उद्योगहरूमा र पिउनयोग्य पानीको प्रयोग जम्मा ११ प्रतिशत मात्र हो ।
यो शताब्दीमा जनसंख्या वृद्धि दरभन्दा पानीको खपत दोब्बरले बढेको छ । जन्म दरको कुरा गर्दासन् २०५० सम्ममा पृथ्वीमा मानिसको संख्या ९ अर्ब पुग्ने छ र विश्व बैंक आफैं भन्दै छ– त्यतिबेलासम्म अन्नको उत्पादन ७० प्रतिशतले वृद्धि गर्नुपर्छ ।
विकासशील देशहरूमा खानाको आहारमा परिवर्तन भइरहेको र क्यालोरी खपत वृद्धि भइरहेको छ तर हाम्रो राजनीतिक नेतृत्व यसमा गम्भीर छैन । खाद्यान्न आयात गर्दै भन्सार महसुलले दिन गुजारा गर्दै छ, युवा विक्री गरेर प्राप्त रकमले मोजमस्ती गर्दै छ ।
देशमा कृषि उत्पादन छैन, धानको उत्पादन बढ्दा धान, चामलकै आयात बढ्ने र मूल्य पनि बढ्ने देश हो हाम्रो । राजनीतिकर्मीहरूको अदूरदर्शिताका कारण देशमा औद्योगिक कारखानाहरू तालाबन्दी गरिए र सार्वजनिक सम्पत्तिमा दलहरूको रजाइँ भयो । दलहरूले जनताको मन–मुटु छुन सकेनन् र देश रनभुल्लमा छ । जताततै सडकमा नाराहरू घन्कँदै छन्, ‘फलानो चोर, देश छोड्’ भनेर । तर, साँच्चै बंगलादेश, श्रीलंका भइदियो भने विदेशीले पनि शरण नदिनेगरी हाम्रा नेताहरूले आफ्नो विधि र व्यवहार देखाइरहेका छन् ।
संयुक्त राष्ट्रसंघले विश्व पानी दिवस मनाउन थाल्यो, सन् १९९३ देखि हरेक वर्ष, नेपालमा सन् २००९ देखि मात्र । नेपालमा ६ हजार बढी नदीनालाबाट पानी खेर गएको छ । हाम्रो राजनीतिले पनि व्यापक कोल्टे फेरेको समय यही हो तर कोल्टे फेरेसँगै देश निदाउने, अस्तव्यस्त हुने, पानी र फोहोरमा पनि राजनीति गर्ने, जनताको सपनालाई चकनाचुर पारेर राजनीतिकर्मीहरूको मात्र सपना साकार पार्ने, यो मनोदशा जीवन्त रहेसम्म देश अझै ठूलो भड्खालामा जाने सम्भावना छ ।
पानी जमिनमा छिर्दा रिचार्ज सरह हुन्छ, सडक पिचले जमिनभित्र पानी जान नसक्ने अवस्था छ । लोकतन्त्र र संघीयता बोकेको देशले जताततै डोजर आतंक फैलाएको छ । पानी र यसको स्रोत व्यवस्थापन गर्नुभन्दा पनि माटो छोपेर विकास गर्ने, जमिनभित्र पानी सोस्न नदिने कार्य धेरै गरेको छ, ढोकाढोकामा ढलान गरिदिएर भूमिगत पानीमा समेत अवरोध गरेको छ । विकासका नाममा भएको यो प्रक्रियाले देशको सही विकास मोडल नै चिन्न सकेको छैन ।
भूमिगत पानीमा अमोनिया, नाइट्रेट, आइरन र आर्सेनिक हुने हुँदा सिधै पिउन अयोग्य हुन्छ । तर, सरसफाइमा प्रयोग गर्न सकिन्छ । नेपालमा सन् २०३० सम्ममा सबैका लागि पानी र सरसफाइको लक्ष्य छ ।
विश्वमा ९७ प्रतिशत पानी समुद्री छ, जुन खासै प्रयोगमा हुन्न । ताजा पानी जम्मा ३ प्रतिशत छ, त्यसमा दुई तिहाइ हिमाली र हिमनदीमा छ । कतै हिउँमै पुरिने गर्छ पानी । प्रयोगयोग्य त १ प्रतिशत मात्र हो ।
संसारमा पानी उत्पादन र वितरणकै लागि ३५० अर्ब डलर वार्षिक खर्च हुने गरेको छ, माग बढी छ, आपूर्ति संकुचन छ । पानीजन्य रोगले विश्व त्रसित छ, यसको माग र पूर्तिकै लागि तेस्रो महायुद्धको सम्भावनासमेत छ ।
हामीकहाँ धेरै पानी छ तर नेतृत्वको दिवालियापनले यसको प्रयोग गर्न सकेको छैन, सिँचाइमा पनि अपर्याप्त नै छ ।
एकातिर पानीको अवस्था समस्याप्रद छ भने राजनीति पनि उस्तै छ । नेपालको सन्दर्भमा पानी र राजनीति निकै समस्याले जेलिएका छन्, जसबाट जनताले सधैं राहत होइन, आहत भोगिरहेका छन् । यसको दीर्घकालीन समाधान खोजिएको छ तर सधैं नेतृत्वले जनतालाई झुक्याइरहेको छ ।