अर्घाखाँची : शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सुशासन, पारदर्शिता, सरसफाइ र हरियाली प्रवद्र्धनलाई आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।
नगरपालिकाको जिम्मेवारी सम्हालेसँगै नगरपालिकाका कर्मचारीहरुसँग भएको परिचयात्मक कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधिले बनाएका नीति, नियम, कानुन र बजेटलाई कर्मचारीहरूले छिटो, छरितो, भरपर्दो र जनतामुखी ढंगले कार्यान्वयन गर्नुपर्ने बताए । उनले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएको महसुस हुने गरी मुस्कानसहितको सेवा दिन कर्मचारीलाई निर्देशनसमेत दिए ।
यसअघि रुपन्देहीको देवदह नगरपालिका, नवलपरासीको बर्दघाट नगरपालिका र तिलोत्तमा नगरपालिकामा प्रशासकीय अधिकृतको रूपमा काम गर्दै राम्रो छवि बनाउन सफल भएका सापकोटाले अब नेपालकै सबैभन्दा ठूलो र विकट नगरपालिका शितगङ्गाको जिम्मेवारी सम्हालेका हुन् । उनले विभिन्न जिल्लामा कार्यकारीको रूपमा कुशलतापूर्वक काम गरेको र संघीय सरकारका विभिन्न मन्त्रालयमा पनि कार्य गरेको अनुभव रहेको बताए ।
शितगंगा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले गरेको स्वागत कार्यक्रममा सापकोटाले कर्मचारीलाई स्थानीय सरकार सञ्चालन ऐन, कार्यविधि र नियम–कानुनको परिधिभित्र रहेर कसैको दबाब वा प्रभावमा नपरी नागरिकलाई सन्तुष्टि दिने गरी काम गर्न आग्रह गरे । उनले असल कर्मचारीको पहिचान बनाउन ईमानदार काम गर्ने महत्त्वपूर्ण रहेको बताए । ‘कर्मचारीले जनप्रतिनिधिलाई सफल बनाउने जिम्मेवारी लिएको हुन्छ, म पनि त्यस्तै काम गर्छु, तपाईंहरूको साथ–सहयोगको अपेक्षा गरेको छु,’ सापकोटाले भने ।
उनले शितगंगाका नागरिक र सरोकारवालासँग हातेमालो र सहकार्य गर्दै नगरपालिकालाई सुशासन, पारदर्शिता र जवाफदेहीमैत्री नगरपालिकाको रूपमा स्थापित गर्ने प्रतिवद्धता जनाए । सेवाग्राहीमैत्री नगरपालिका हो भन्ने प्रत्याभूति दिनका लागि कर्मचारीले मिहिनेत गर्नुपर्ने र नागरिकले साथ–सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।
‘जुनसुकै काम गर्दा पनि जनप्रतिनिधिसँग सहकार्य र समन्वय गरेर स्थानीय सरकारलाई परिणाममुखी बनाउनु मेरो मुख्य लक्ष्य हो,’ सापकोटाले स्पष्ट भने । उनले मुस्कानसहितको सेवा दिइ सेवाग्राहीलाई छिटोछरितो काम दिन निर्देशन दिँदै जनमुखी काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र गैरजिम्मेवार ढंगले काम गर्ने कर्मचारीलाई दण्ड–जरिवाना गर्ने चेतावनीसमेत दिए ।
शितगंगा नगरपालिका ठूलो नगरपालिका भएकाले अहिलेको बजेटले विकास कार्य गर्न कठिन भएको भन्दै उनले आन्तरिक स्रोतका लागि विशेष योजना बनाउन गृहकार्य सुरु गरिएको जानकारी दिए ।