२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

बुढानीलकण्ठ नगर अस्पतालमा बढ्दै सेवा र सेवाग्राही, विशेषज्ञ उपचार थप्ने तयारी

Nada
२०८३ साउन २७ गते १७:०९
Shares
बुढानीलकण्ठ नगर अस्पतालमा बढ्दै सेवा र सेवाग्राही, विशेषज्ञ उपचार थप्ने तयारी

काठमाडौं : बुढानीलकण्ठ नगर अस्पतालले सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षदेखि थप विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालले स्थानीय नागरिकलाई उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था कम गर्ने उद्देश्यले नयाँ विभाग र विशेषज्ञ सेवा थप गर्न लागेको हो ।

ncell

अस्पतालले दैनिक रूपमा दन्त सेवा सञ्चालन गर्ने गरी दन्त सेवा विभाग स्थापना गर्ने योजना बनाएको छ । यससँगै मुटुरोग र स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा सातामा दुई दिन तथा चर्मरोग सेवा सातामा एक दिन सञ्चालन गर्ने तयारी गरिएको छ। बालरोग सेवा पनि सातामा एक दिनबाट बढाएर दुई दिन सञ्चालन गरिनेछ ।

अस्पतालको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा तथा भावी कार्ययोजना कार्यक्रममा आगामी योजनाबारे जानकारी दिइएको हो ।

No description available.

नगरप्रमुख मिठाराम अधिकारीले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए । नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नगर अस्पतालको क्षमता विस्तारसँगै अन्य अस्पतालसँगको सहकार्यलाई समेत अघि बढाइएको उनले बताए ।

नगरपालिकाले नगरवासीलाई उपचारमा आर्थिक भार कम गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गरेको छ । निःशुल्क रगत उपलब्ध गराउने, जलनपीडितका लागि किर्तिपुर अस्पतालमा निःशुल्क उपचार तथा हेम्स अस्पतालमा उपचार खर्चमा १७ प्रतिशत छुटको व्यवस्था गरिएको अधिकारीले बताए । त्यस्तै, गंगालाल अस्पतालमा मुटुरोग उपचारका लागि ५० हजार रुपैयाँसम्म सहयोग र बाँसबारी न्यूरो अस्पतालमा १५ प्रतिशत छुट उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद पोखरेलले सेवा विस्तारसँगै निःशुल्क उपचारको नीतिलाई पनि प्रभावकारी बनाइने बताए । उनका अनुसार नगर अस्पताल र अन्य अस्पतालबीचको समन्वयमार्फत आवश्यक सेवामा नागरिकको पहुँच बढाउने प्रयास भइरहेको छ ।

No description available.

पछिल्लो समय अस्पतालमा ओपिडी सेवा पनि थपिएको छ। दैनिक दुई वटा ओपिडी सञ्चालन हुँदै आएकोमा हाल तीन वटा ओपिडी सञ्चालनमा छन् । २०८३ असार १२ गतेदेखि सुरु गरिएको यूएसजी सेवाबाट असार मसान्तसम्म ३४८ जनाले सेवा लिएका छन् ।

अर्थोपेडिक सेवाको अवधि पनि विस्तार गरिएको छ। यसअघि सातामा दुई दिन मात्र सञ्चालन हुँदै आएको सेवा अहिले पाँच दिन सञ्चालन भइरहेको छ । बर्थिङ सेवा सुरु भएको केही महिनामै २२ जनाले सफल प्रसूति सेवा लिएको पोखरेलले जानकारी दिए। उक्त सेवा २०८२ मंसिर ९ गतेदेखि सञ्चालनमा आएको हो ।

अस्पतालका निर्देशक डा. सुधांशु झाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा ५४ हजार ७३ जनाले अस्पतालका विभिन्न सेवा लिएका छन् । ओपिडीबाट मात्रै ४६ हजार ८४८ जना सेवाग्राहीले सेवा लिएका थिए। यसबाहेक आकस्मिक सेवाबाट ३ हजार ४१४, स्वास्थ्य बीमामार्फत ४ हजार ३०४ र अन्य सेवाबाट ३ हजार ८११ जनाले सेवा प्राप्त गरेका छन् ।

सेवा लिन आउने नागरिकको संख्या बढेसँगै अस्पतालप्रतिको अपेक्षा पनि बढेको डा. झाले बताए । सेवाग्राहीको विश्वासलाई कायम राख्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ छ ।

No description available.

नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईले नगर अस्पतालले दुई वर्षमै हासिल गरेको प्रगतिलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । उनले अस्पतालको सेवा नगरका सबै नागरिकसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै जनअपेक्षाअनुसार सेवा प्रवाह गर्न अस्पताल प्रशासनलाई आग्रह गरे ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य डा. कालुसिंह खत्री, वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतलगायतले अस्पतालको सेवा गुणस्तरीय बनाउन तथा विशेषज्ञ सेवा विस्तार गर्न आवश्यक सुझाव दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर