
टोकियो, जापान : जापानमा ठुलो परिमाणमा लागुऔषध तस्करी गरेको आरोपमा दुई जना नेपाली नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्ण गिरी र सागर भण्डारी रहेका छन् । गिरीले जापानको टोयोकावा सहरमा कम्पनी सञ्चालन गर्दै आएका थिए ।
पक्राउ पर्नेमा एक जना भने बेलायती नागरिक रहेको जापानको याहु न्युजले समाचारमा उल्लेख गरेको छ । याहु न्युजका अनुसार बेलायती नागरिक मुख्य योजनाकार हुन सक्ने प्रहरीको आशंका रहेको छ ।
प्रहरीका अनुसार उनीहरूले यही वर्ष मार्च महिनामा संयुक्त अरब इमिरेट्स (युएई)बाट जापानमा करिब २१५ किलोग्राम ‘काकुसेइजाइ’ अवैध रूपमा भित्र्याएको आरोप लागेको छ । बरामद गरिएको लागुऔषधको बजार मूल्य करिब ११४ अर्ब येन रहेको बताइएको छ ।
यो लागुऔषध कोबे बन्दरगाह पुगेको कन्टेनरभित्र कपासमा मिसाएर लुकाइएको अवस्थामा फेला परेको थियो । त्यसपछि भन्सार विभागले प्रहरीलाई जानकारी दिएको थियो ।
आइची प्रिफेक्चर पुलिसका अनुसार यो बरामद मात्रा उनीहरूले हालसम्म गरेको कारबाहीमध्ये दोस्रो ठुलो हो ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्ति तथा अन्तर्राष्ट्रिय तस्करी सञ्जालबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।