२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

जापानमा नेपालीका समस्याबारे पत्रकार महासंघद्वारा दूतावासको ध्यानाकर्षण

Nada
पूर्ण चलाउने
२०८२ चैत २२ गते १७:५०
Shares
जापानमा नेपालीका समस्याबारे पत्रकार महासंघद्वारा दूतावासको ध्यानाकर्षण

टोकियो : जापानमा बसोबास गर्ने नेपाली समुदायका विभिन्न समस्या समाधानका लागि नेपाल पत्रकार महासंघ, जापान शाखाले जापानस्थित नेपाली दूतावासलाई ध्यानाकर्षण गराएको छ । पछिल्लो समय जापानमा नेपालीको संख्या बढ्दै जाँदा उनीहरूका समस्या पनि थपिँदै गएको सन्दर्भमा महासंघले दूतावाससँग छलफल गरेको हो ।

ncell

महासंघका अध्यक्ष रविन्द्र श्रेष्ठको नेतृत्वमा गएको टोलीले शुक्रबार दूतावास पुगेर सेवा प्रवाह, समुदायका समस्या र आगामी योजनाबारे विस्तृत छलफल गरेको थियो । भेटका क्रममा कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले दूतावासबाट प्रदान गरिँदै आएका सेवा, चुनौती र सुधारका पहलबारे जानकारी दिएका थिए ।

उनले आफूले जिम्मेवारी सम्हालेपछि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको बताए । उनका अनुसार दूतावासमा दैनिक ९ सयभन्दा बढी टेलिफोन आउने गरेका छन् । ती गुनासा र जिज्ञासालाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘आईभीआर प्रणाली’ सञ्चालनमा ल्याइएको छ । साथै, मासिक रूपमा फेसबुक लाइभ र ह्वाट्सएपमार्फत सेवाग्राहीका समस्या सुन्ने र समाधान गर्ने प्रयास भइरहेको उनले जानकारी दिए ।

भेटका क्रममा कार्यवाहक राजदूत पौडेलले जापानमा अध्ययनरत नेपाली विद्यार्थीबीच बढ्दो आत्महत्याको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरे । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जापानमा ५३ जना नेपालीको मृत्यु भएको र तीमध्ये करिब ८० प्रतिशत आत्महत्यासँग सम्बन्धित रहेको उनले बताए ।

No description available.

जापान सरकारले विद्यार्थीलाई हप्तामा २८ घण्टा काम गर्ने अनुमति दिएको भए पनि केही शैक्षिक संस्थाहरूले सो अवसर नदिँदा समस्या उत्पन्न भइरहेको गुनासो दूतावासमा आउने गरेको छ । आर्थिक अभाव, कामको दबाब र मानसिक तनावका कारण विद्यार्थीहरू जोखिममा पर्ने गरेको उनको भनाइ थियो ।

त्यस्तै, श्रम स्वीकृति नलिएका नेपालीको मृत्यु हुँदा शव नेपाल पठाउन कठिनाइ हुने समस्या पनि देखिएको छ । श्रम स्वीकृति भएका व्यक्तिको हकमा राज्यकोषबाट शव नेपाल ल्याउने व्यवस्था भए पनि विद्यार्थी र आश्रित (डिपेन्डेन्ट) का लागि यस्तो सुविधा नहुँदा समस्या हुने गरेको दूतावासले जनाएको छ ।

महासंघका उपाध्यक्ष लक्ष्मी पौडेल, सदस्यहरू दिनेश थापा, विनोद ढकाल तथा पत्रकार जीवन सुवेदीले जापानस्थित नेपाली समुदायका विविध समस्या दूतावाससमक्ष राखेका थिए । उनीहरूले दूतावासको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सूचना आदानप्रदानमा सहकार्य गर्ने, सही सूचना समुदायसम्म पुर्‍याउने र दूतावास तथा नेपाली समुदायबीच सेतुको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित खबर