
दोहा कतार : प्रवासमा रहेर पनि नेपाली मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्ने उद्देश्यका साथ परियार मित्रता समाज, कतार ले विशेष सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना गर्ने भएको छ । नेपाली लोकसंस्कृतिको अमूल्य सम्पदा मानिने राष्ट्रिय नौमती बाजाको संरक्षण, प्रवर्धन र पुस्तान्तरण गर्ने लक्ष्यसहित समाजले यस वर्ष भव्य सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
‘हातमा हात, काँधमा काँध मिलाई, अघि बढौं र बढाऔं’ भन्ने संस्थागत नारालाई आत्मसात् गर्दै आएको समाजले यस पटक ‘संस्कृति, सम्मान र पहिचान : राष्ट्रिय नौमती बाजा संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
आयोजक समितिका अनुसार प्रवासको व्यस्त जीवनशैलीबिच हराउँदै जान थालेका नेपाली मौलिक कला, संस्कृति र परम्परालाई जोगाउँदै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमको अवधारणा तयार पारिएको हो । विशेषगरी नेपाली समाजको पहिचानसँग गाँसिएको नौमती बाजालाई अन्तर्राष्ट्रिय परिवेशमा समेत परिचित गराउँदै यसको संरक्षणमा सामूहिक प्रतिबद्धता जनाउने अभियानका रूपमा कार्यक्रमलाई लिइएको समाजले जनाएको छ ।
कार्यक्रम आगामी शुक्रबार कतारको मुटु दोहास्थित फ्रिज अब्दुल अजिज क्षेत्रमा रहेको घरवा रेस्टुरेन्टको सभा हलमा दिउँसो १२ बजेदेखि सञ्चालन हुनेछ ।
कार्यक्रममा कतारमा क्रियाशील विभिन्न नेपाली संघ–संस्था तथा वैचारिक संगठनका प्रमुख एवं प्रतिनिधि, सामाजिक अभियन्ता, व्यवसायी, बुद्धिजीवी, पत्रकार, कलाकार तथा नेपाली समुदायका अगुवाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । आयोजकका अनुसार अधिकांश अतिथिलाई औपचारिक निमन्त्रणा पठाइसकिएको छ भने सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
कार्यक्रममा नौमती बाजाको सुमधुर धुनसँगै नेपाली मौलिक संस्कृति झल्काउने विविध सांस्कृतिक प्रस्तुति, लोकगीत तथा नृत्य प्रस्तुत गरिनेछ । सहभागीहरूले नेपालीपनको मौलिक स्वाद अनुभूति गर्ने, नौमती बाजाको धुनमा रमाउने तथा प्रवासमै स्वदेशको सांस्कृतिक वातावरणको अनुभव गर्ने अवसर प्राप्त गर्ने आयोजकको विश्वास छ ।
समाज, कतारले कार्यक्रमलाई नेपाली समुदायको साझा सांस्कृतिक उत्सवका रूपमा सफल बनाउन कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थित भई नेपाली भाषा, कला, संस्कृति र राष्ट्रिय पहिचान संरक्षणको अभियानमा ऐक्यबद्धता जनाउन हार्दिक आग्रह गरेको छ ।