
जेद्दा, साउदी अरेबिया : साउदी अरेबियाको जिजान क्षेत्रमा विगत ६-७ महिनादेखि कम्पनी तथा परिवारको सम्पर्कविहीन अवस्थामा रहेका सिरहा निवासी नेपाली श्रमिक विरिन्द्र महरालाई नेपाली महावाणिज्यदूतावास, जेद्दाको सक्रिय पहलमा सकुशल उद्धार गरी नेपाल पठाइएको छ ।
सिरहा जिल्लाका महरा वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबको जिजानमा कार्यरत रहँदा लामो समयदेखि सम्पर्कविहीन बनेपछि परिवार तथा नेपाली समुदायको चिन्ता बढेको थियो । घटनाबारे जानकारी प्राप्त भएलगत्तै नेपाली महावाणिज्यदूतावास, जेद्दाले खोजी तथा समन्वय कार्यलाई तीव्र बनाएको थियो ।
महरा जिजान क्षेत्रमा देखिएको सूचना प्राप्त हुनासाथ श्रम सहचारीसहितको कन्सुलेटको टोली २५ जुलाईमा जिजान पुगेको थियो । प्रारम्भिक रूपमा सूचना प्राप्त भएको स्थानमा फेला नपरे पनि व्यापक खोजी, स्थानीय नेपाली समुदाय र स्वयंसेवकहरूको सहयोग तथा निरन्तर समन्वयपछि उनलाई सुरक्षित रूपमा फेला पार्न सफल भएको कन्सुलेटले जनाएको छ ।
उद्धारपछि महरालाई जेद्दास्थित कन्सुलेटको आश्रयमा राखी फाइनल एक्जिट भिसालगायत नेपाल फिर्ताका सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरिएको थियो । त्यसपछि १ अगस्टमा कन्सुलेटका कर्मचारीको साथमा उनलाई नेपाल पठाइएको हो । नेपाल पुगेपछि उनलाई आफ्ना साला शत्रोहन महराको जिम्मा लगाइएको जनाइएको छ ।
यस उद्धार अभियानमा सहयोग पुर्याउने जिजानस्थित नेपाली समुदाय, स्वयंसेवी नेपाली तथा समन्वयमा खटिएका सबैप्रति नेपाली महावाणिज्यदूतावास, जेद्दाले हार्दिक आभार व्यक्त गरेको छ ।
यस घटनाले विदेशमा समस्यामा परेका नेपाली श्रमिकहरूको उद्धार, संरक्षण र सुरक्षित स्वदेश फिर्तीका लागि नेपाली महावाणिज्यदूतावास, जेद्दाले निरन्तर सक्रिय रूपमा काम गरिरहेको सन्देश पुनः स्पष्ट गरेको छ ।