२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

जेद्दामा एनआरएनए साउदीको १९औं वार्षिकोत्सव सम्पन्न

Nada
अन्जान गुभाजु
२०८३ साउन १५ गते २१:३२
Shares
जेद्दामा एनआरएनए साउदीको १९औं वार्षिकोत्सव सम्पन्न

जेद्दा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) साउदी अरबको १९औं वार्षिकोत्सव जेद्दास्थित द भिलेज रेस्टुरेन्ट (अजीजिया) मा भव्य रूपमा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष राजकुमार गिरीको सञ्चालनमा आयोजित कार्यक्रममा संस्थागत समीक्षा, नेपाली महावाणिज्य दूतावाससँग श्रमिक अन्तरक्रिया तथा सांस्कृतिक प्रस्तुतिसहित तीन चरणमा कार्यक्रम सम्पन्न गरिएको थियो । 

ncell

कार्यक्रमको सभापतित्व एनसीसी साउदी अरबका अध्यक्ष उमेश भट्टराईले गरेका थिए भने नेपाली महावाणिज्य दूतावास, जेद्दाका महावाणिज्यदूत पारस पण्डित प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । 

कार्यक्रममा उपमहावाणिज्यदूत यज्ञ पोखरेल, वाणिज्यदूत सुभास यादव, श्रम सहचारी जीवन घिमिरे, उपवाणिज्यदूत पुजन पाण्डेलगायत विभिन्न सरकारी अधिकारी, सामाजिक अभियन्ता, सञ्चारकर्मी, व्यवसायी तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

कार्यक्रमको उद्घाटन दीप प्रज्वलन, राष्ट्रिय गान तथा एलसीसी, आरसीसी र एनसीसीको संयुक्त झाँकी प्रदर्शनबाट गरिएको थियो । वरिष्ठ उपाध्यक्ष हेम सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रममा उपाध्यक्ष अर्जुन थापाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष योगेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन तथा आय–व्यय विवरण सार्वजनिक गर्नुभएको थियो। समाजमा उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो । 

प्रमुख अतिथि महावाणिज्यदूत पारस पण्डितले एनआरएनए साउदी अरबले १९ वर्षको यात्रामा परिपक्व र जिम्मेवार संस्थाको पहिचान स्थापित गरेको उल्लेख गर्दै नेपाली श्रमिकका समस्या समाधान, उद्धार तथा नियोगसँगको सहकार्यमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । उपमहावाणिज्यदूत यज्ञ पोखरेलले दूतावासका आधिकारिक सूचना नियमित रूपमा अनुसरण गर्न आग्रह गर्दै श्रमिकका हकहितको संरक्षणमा नियोग सधैं प्रतिबद्ध रहने बताए । 

श्रम सहचारी जीवन घिमिरेले साउदी अरबमा कार्यरत नेपालीलाई स्थानीय कानुनको पूर्ण पालना गर्न आग्रह गरेका थिए । 

सभापति उमेश भट्टराईले संस्थाले हालसम्म नेपाली श्रमिकको हितमा करोडौं रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग उपलब्ध गराइसकेको जानकारी दिँदै आगामी दिनमा पनि वैदेशिक रोजगारीमा रहेका नेपालीको हकहित र सुरक्षाका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रमको दोस्रो चरणमा आयोजित श्रमिक अन्तरक्रियामा सहभागीहरूले श्रम सम्झौता, कानुनी प्रक्रिया, सेवा–सुविधा तथा रोजगारीका क्रममा भोग्नुपरेका विभिन्न समस्याबारे जिज्ञासा राखेका थिए । महावाणिज्यदूत पारस पण्डितसहित दूतावासका अधिकारीहरूले उठाइएका प्रश्नको स्पष्ट जवाफ दिँदै आवश्यक सहयोग र समस्या समाधानका लागि दूतावास सधैं तत्पर रहने विश्वास दिलाएका थिए । 

अन्तिम चरणमा स्थानीय नेपाली कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो । सहभागीहरूले गीत–संगीत र नृत्यमार्फत वार्षिकोत्सवलाई उल्लासपूर्ण रूपमा मनाएका थिए ।

कार्यक्रमको सफल आयोजनाका लागि एनआरएनए साउदी अरबले आरसीसी जेद्दा, एलसीसी, स्वयंसेवक, नेपाली महावाणिज्य दूतावास, सञ्चारमाध्यम, कलाकार, प्रायोजक तथा सम्पूर्ण नेपाली समुदायप्रति आभार व्यक्त गरेको छ । संस्थाले आगामी दिनमा पनि नेपाली समुदायको एकता, श्रमिक हित र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

सम्बन्धित खबर