मकवानपुर : बागमती प्रदेशको राजधानी हेटौंडामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बृहत् योग शिविर सम्पन्न भएको छ । भारतीय महावाणिज्यदूतावास, वीरगञ्जको आयोजनामा नेपाल भारत मैत्री संघ मकवानपुर, डायनेमिक पब्लिक लाइब्रेरी र पतञ्जली योग समिति मकवानपुरको सहकार्यमा हेटौंडाको रोयल प्यालेसमा आयोजित शिविरमा २ सय बढीको सहभागिता रहेको थियो ।
शिविरमा विभिन्न राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका अभियन्ता तथा योगप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । उनले स्वस्थ जीवन र शारीरिक तन्दुरुस्तीका लागि योग अपरिहार्य रहेको उल्लेख गर्दै यस्तो अभ्यासलाई नियमित जीवनशैलीको अंग बनाउन आह्वान गरे ।
कार्यक्रममा विशेष अतिथि भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले योग मानव स्वास्थ्य र समग्र जीवनकल्याणको लागि अत्यावश्यक अभ्यास भएको बताइन् । उनले भनिन्,‘योगले तन, मन र आत्मा सबैको सन्तुलन कायम गर्छ, त्यसैले आजको युगमा यसको महत्व अझ बढेको छ ।’
सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभाले नेपालसहित १७७ राष्ट्रको समर्थनमा हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो । यस वर्ष ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योगको महत्व’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।