२०८२ असार १ गते आइतवार / Jun 15 , 2025 , Sunday
२०८२ असार १ गते आइतवार
Ads

हेटौंडा सिमेन्टमा बेथिति : कवाडीमा सामान बेच्दा पनि कर्मचारीले पाएनन्

राजकुमार के.सी.
२०८२ जेठ ३१ गते ०६:५०
हेटौंडा सिमेन्टमा बेथिति : कवाडीमा सामान बेच्दा पनि कर्मचारीले पाएनन्

मकवानपुर : सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग धरासायी बन्दै गइरहेका अवस्थामा उद्योगको आर्थिक भार कम गर्न रोप–वे बेच्ने निर्णय गरियो ।

मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको भैंसे चुनढुंगा खानीदेखि उद्योगसम्म बन्द अवस्थामा रहेका रोप–वे बेचेर उद्योगको आर्थिक भार कम गर्ने उद्देश्यले ७ पुसमा बाराको पिएएस एन्ड सन्स इन्टरप्राइजेजसँग ठेक्का सम्झौता भयो । सोहीअनुसार ठेकेदारले रोप–वेको तार, डिब्बा काट्यो । बाँकी रहेका सामानहरू अहिले पनि ठेकेदारले लगिरहेका छन् ।

उद्योगले करिब १५ करोड रुपैयाँ पर्ने रोपवेको सामान भ्याटसहित ४ करोड २५ लाखमा रोप–वे बिक्री गर्न सम्झौता गरेको हो ।

यसैबीच हेटौंडा सिमेन्टको भैंसे खानीको चमेना गृह नजिक रहेका २ वटा टिपर (डम्पर) गाडी गायब भएको छ । थन्केर बसेका गाडी कसले लग्यो उद्योगलाई जानकारी छैन । बरु गाडी चोरी भएको भन्दै उद्योगले जिल्ला प्रहरी कार्यालयमा भने निवदेन दिएको छ । तर प्रहरीले निवेदनको सुनुवाइ नगरेको उद्योगले जनाएको छ ।

उद्योगका कर्मचारी र स्थानीयका अनुसार ठेकेदारले नै सम्झौता भएको एक महिनाभित्र भैंसे खानी र अन्य स्थानबाट पुराना कवाडी सामग्री लगेका थिए ।

उक्त विषयमा उद्योगको खानी महाशाखाले अनुगमन समेत गरेको थियो । ठेकेदारले नै कवाडी सामग्रीसँगै अरु सामान समेत उठाएको भन्दै महाशाखाले सिमेन्ट उद्योगलाई सूचना समेत दिएको थियो ।

उद्योगमा कार्यरत कर्मचारीहरूले कवाडीको नाममा थन्केर बसेका उद्योगका महँगा सामानहरू चोरी भएको जनाएका छन् ।

उद्योगमा कार्यरत कर्मचारी संगठनका नेताहरूले पत्रकार सम्मेलनमार्फत् यस विषयमा जानकारी गराएका छन् । उनीहरूले चोरीको विषयमा प्रशासनले ध्यान नदिएको आरोप लगाए ।

रोप–वे बिक्री गर्ने क्रममा भैंसे खानीको चमेनागृह नजिक रहेको डम्फरसंगै भैंसे खानीबाटै लाखौं मूल्यको ६३० केभीएको ट्रान्सफर्मर समेत चोरी भएको संगठनको दाबी छ ।

‘तार काटेर लैजान ठेक्का दिएको हो तर अन्य सामग्री पनि चोरी भएको देखियो । पुरानो डिब्बा गाडी पनि हराएकोले २५ माघमै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवदेन दर्ता गराएको थियौं ।’ उद्योगका अध्यक्ष नरेन्द्र भण्डारीले बताए । उनले यसबारे प्रहरीले चासो नदेखाएको बताए ।

उद्योगका सूचना अधिकारी हरेराम आचार्यका अनुसार उद्योगले कवाडी ठेकेदार पक्षबाट ३ किस्तामा सम्पूर्ण भुक्तानी भइसक्नुपर्ने सहमति गरेको छ । उद्योगले सोहीअनुसार पहिलो किस्ता वापतको १ करोड ४२ लाख ६८ हजार ६९४ रुपैयाँ समेत प्राप्त गरिसकेको छ । रोप–वे खरिदकर्ता कम्पनीले सम्झौताको ९ महिनाभित्र रोप–वेको सम्पूर्ण संरचना उठाइसक्नुपर्ने सहमति गरेको छ ।

सिमेन्ट उद्योगको डम्फर र ट्रान्सफर्मर ठेकेदारबाटै चोरी भएको उद्योगका कर्मचारीहरूको दाबी छ ।

कर्मचारीहरूका अनुसार ठेकेदार पक्षले तत्कालीन महाप्रवन्धक वसन्तराज पाण्डे र प्रहरीकै सेटिङमा कवाडी ठेक्काको नाममा टिपर लगायत सामग्री चोरी भएको पत्रकार सम्मेलनमा उनीहरूले दाबी गरे । उनीहरूका अनुसार उद्योगले निवदेन दिँदा पनि प्रहरीले अनुसन्धान नगर्नुले प्रहरीको मिलेमतो प्रष्ट देखिन्छ । 

सिमेन्ट उद्योगको रोप–वे बेचेर पुरानो मेसिनरी संयन्त्र स्थानान्तरण गर्ने सिफारिसको आधारमा व्यवस्थापकले टेन्डरमार्फत लिलामी प्रक्रिया अघि बढाए पनि त्यस विपरीत सञ्चालक समितिले दोब्बर महँगोमा कोइला र अन्य कच्चा पदार्थको भुक्तानी गर्ने गैरकानुनी निर्णय गरेको ट्रेड युनियनका अध्यक्ष कुमार खतिवडाले बताए । कोइला लगायतको कच्चा पदार्थ महंगोमा खरिद गर्दा सिमेण्टको प्रतिबोरा लागत वृद्धि भई उद्योग घाटामा रहेको र उक्त कोइला २÷३ महिनामा आपूर्ति भइसक्नुपर्नेमा सम्झौता लम्ब्याउने काम गरिएको उनले बताए । 

फागुनदेखि तलब पाएनन्

नेपाल कारखाना श्रमिक संघका अध्यक्ष विशाल नेपालका अनुसार उद्योगमा हाल १९३ जना पूर्णकालीन कर्मचारी कार्यरत छन् । यसबाहेक दैनिक ज्यालादारी र सुरक्षाकर्मी गरी थप करिब १५० कर्मचारी छन् ।

कर्मचारीहरूले फागुन महिनायताको तलब पाएका छैनन् । भदौदेखि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको रकम रोकिएको छ । उद्योगका कर्मचारीको मात्रै करिब ५ करोड र दैनिक ज्यालादारीको २ करोड गरी ७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको नेपालले बताए ।

उद्योगमा सिमेन्ट उत्पादन चलिरहे पनि क्लिड्ढर उत्पादन भने बन्द  छ । व्यवस्थापन र कर्मचारी ट्रेड युनियनको सामान्य विवादका कारण केही दिनदेखि बिक्री समेत बन्द अवस्थामा छ ।

‘रोपवे बिक्रीबाट प्राप्त हुने रकमले कच्चा पदार्थ किन्ने र त्यसबाट उत्पादन भएको सिमेण्टबाट कर्मचारीको बाँकी बक्यौता भुक्तानी गर्ने सहमति भएको थियो । हामीले उक्त सहमति कार्यान्वयनको माग गर्दा हाजिरी गर्न रोक लगाइएको छ’, अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष नेमा डिमडुङले बताए । 

ADV

सम्बन्धित खबर