२०८२ जेठ २२ गते बिहिवार / Jun 05 , 2025 , Thursday
२०८२ जेठ २२ गते बिहिवार
Ads

प्लास्टिक बोत्तलसँग २ सय भन्दा बढी बिरुवा साटियो

राजकुमार के.सी.
२०८२ जेठ १९ गते २०:५१
प्लास्टिक बोत्तलसँग २ सय भन्दा बढी बिरुवा साटियो

मकवानपुर : विश्व वातावरण दिवस २०८२ को सन्दर्भमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत, हेटौंडा उपमहानगरपालिका–९ मा ‘प्लास्टिकका बोत्तलसँग फलफूलको बिरुवा साट्ने अभियान’ सम्पन्न भएको छ ।

कार्यक्रम टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–९ र पशुपती हेल्थ क्लबको संयोजनमा भएको हो । कार्यक्रममा वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रयोग गरिएका प्लास्टिकका बोत्तल संग फलफूलका बिरूवा साटिएको थियो । 

कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा एवम् हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मिना कुमारी लामा प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रमुख अतिथि लामाले कार्यक्रमलाई ‘अत्यन्तै रचनात्मक र प्रभावकारी’ भन्दै प्रशंसा गरिन् ।

उनले प्लास्टिकको प्रयोग न्यून गर्दै हरियाली बढाउने यस्ता कार्यक्रम अत्यन्त प्रेरणादायी रहेको भन्दै यस्तो कार्यक्रम प्रत्येक वडामा सञ्चालन गर्न जरुरी रहेको बताइन् ।

कार्यक्रममा विभिन्न किसिमका ५ वटा प्लाष्टिक बोत्तल बराबर १ वटा फलफूलको बिरुवा प्रदान गर्ने व्यवस्था अनुसार २२० जनाले फलफूलका बिरूवा प्राप्त गरेका थिए ।

नागरिकहरूको उत्साहजनक सहभागिता भएको कार्यक्रममा आँप, अमला, अम्बा, कागती, लिची लगायत बिरुवाहरु वितरण गरिएको थियो ।

यो अभियान केवल बोत्तल संकलनको कार्यक्रम होइन, वातावरणप्रतिको हाम्रो जिम्मेवारी र भविष्यप्रति प्रतिबद्धताको परिचय हो । आगामी दिनमा अन्य वडाहरूमा पनि यस्ता कार्यक्रम संचालन गरिने टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले बताए ।

संकलित प्लास्टिकका बोत्तललाई सुरक्षित र वातावरणमैत्री तरिकाले व्यवस्थापन गर्दै पुनः प्रयोगयोग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइने आयोजकले जनाएको छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज बिहान ११ बजे जलवायु सचेतना : समस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास शीर्षमा प्यानल डिस्कसन र फिल्म स्क्रिनिङ कार्यक्रम हुनेछ, भने साँझ ४ः३० बजे हेटौंडा–८ चन्द्रोदय मा.वि. परिसरमा वृक्षारोपण गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।

ADV

सम्बन्धित खबर