२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बाढीमा परिवार गुमाएका धनबहादुरलाई एनआरएनए कतारले हवाई टिकट उपलब्ध गराई नेपाल पठायो

Nada
तिलु शर्मा पौडेल
२०८३ भदौ १३ गते २२:१५
Shares
बाढीमा परिवार गुमाएका धनबहादुरलाई एनआरएनए कतारले हवाई टिकट उपलब्ध गराई नेपाल पठायो

दोहा, कतार : हालै नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नुवाकोटमा बस्दै आएका धनकुटा मारेक कटहरेका धनबहादुर गुरुङलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी कतारले हवाई टिकट उपलब्ध गराई नेपाल पठाएको छ।

ncell

बाढीले गुरुङको घर बगाएको तथा उनकी आमा अझै बेपत्ता रहेको र श्रीमती तथा छोरी सकुशल रहेको जानकारी पाएपछि तत्काल नेपाल फर्कनुपर्ने अवस्थालाई मध्यनजर गर्दै एनसीसी कतारले आजकै हवाई टिकटको व्यवस्था गरी उनलाई नेपाल पठाएको हो।

विपद्मा परेका नेपालीलाई सहयोग गर्ने अभियानअन्तर्गत गुरुङलाई नेपाल फर्काउन सहयोग गरिएको एनसीसी कतारका उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक सन्तोष पौडेलले जानकारी दिए। उनले बाढी–पहिरोका कारण परिवार गुमाएका तथा कतारबाट नेपाल फर्कन असहज अवस्थामा रहेका नेपालीलाई आवश्यक सहयोगका लागि संघको सम्पर्कमा आउन आग्रह गरेका छन्।

यसैबीच, एनसीसी कतारले बाढी–पहिरो पीडितका लागि आर्थिक सहयोग संकलन अभियानलाई पनि तीव्रता दिएको अध्यक्ष कृष्ण पन्थीले बताए। नेपाल सरकारले जारी गरेको क्युआर कोडमार्फत धेरै नेपालीले व्यक्तिगत रूपमा सहयोग गरिसकेको अवस्थामा एनसीसी कतारले पनि कार्यसमिति, व्यवसायी, समाजसेवी तथा कतारमा रहेका नेपाली नागरिकबाट सहयोग संकलन गरी राज्यलाई प्रदान गर्ने अभियान अघि बढाएको उनले बताए।

अध्यक्ष पन्थीले विपद्को यस घडीमा कतारवासी नेपालीलाई सहयोग अभियानमा जोडिन आग्रह गरेका छन्। त्यस्तै, एनसीसी कतार र नेपाली महिला समाज कतारको समन्वयमा आगामी शुक्रबार आयोजना हुने ‘रमाइलो तीज कार्यक्रम’ पनि स्थगित गरिएको छ। कतारमा स्थापित पाँच दर्जनभन्दा बढी नेपाली संघसंस्थाको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा नेपालबाट चर्चित गायिका शान्तिश्री परियार कतार आउने तय भएको थियो।

नेपालमा आएको विनाशकारी बाढीका कारण अहिले मनोरञ्जनभन्दा राहत, उद्धार तथा पीडितको सहयोगमा एकजुट हुनुपर्ने आवश्यकता रहेकाले कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ। कतारमा अन्य नेपाली संघसंस्थाले पनि मनोरञ्जनात्मक कार्यक्रम स्थगित गर्दै बाढी–पहिरो प्रभावितको राहत तथा उद्धारमा सहयोग जुटाउन थालेका छन्।

सम्बन्धित खबर