२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

छत्रदेवमा स्वास्थ्य सेवाको वार्षिक समीक्षा : परिणाममुखी सेवा विस्तारमा जोड

Nada
सूर्यप्रसाद भुसाल
२०८३ साउन २२ गते २०:४२
Shares
छत्रदेवमा स्वास्थ्य सेवाको वार्षिक समीक्षा : परिणाममुखी सेवा विस्तारमा जोड

अर्घाखाँची : छत्रदेव गाउँपालिकाले स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिता थप सुदृढ बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न गरेको छ । समीक्षा कार्यक्रममा एक वर्षको उपलब्धि, चुनौती, सेवा प्रवाहको अवस्था तथा आगामी रणनीतिबारे व्यापक छलफल गरिएको थियो ।

ncell

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै यस क्षेत्रमा निरन्तर प्राथमिकता दिइँदै आएको बताए । उनले स्वास्थ्य र शिक्षालाई विकासको प्रमुख आधारका रूपमा लिँदै यी क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको जानकारी दिए । “स्वस्थ नागरिकबिना समृद्ध समाज सम्भव छैन,” उनले भने, “त्यसैले गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य सेवा सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध छ ।”

उपाध्यक्ष मनि पन्थीले सीमित स्रोत र बजेटका बाबजुद स्वास्थ्यकर्मीहरूले जिम्मेवारीपूर्वक सेवा दिइरहेको बताइन् । उनले नियमित अनुगमन र मूल्यांकनका कारण सेवा प्रवाहमा सुधार आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तारका लागि सबै पक्षबीच समन्वय आवश्यक रहेको धारणा राखिन् ।

प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले नागरिकको अपेक्षा बढ्दो क्रममा रहेको भन्दै सीमित स्रोतको अधिकतम उपयोग गरेर उल्लेखनीय काम गरिएको बताए । उनले परिणाममुखी कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै कर्मचारीहरूलाई अझ उत्तरदायी बन्न निर्देशन दिए । “अब नागरिकले परिणाम खोजिरहेका छन्,” उनले भने, “राम्रो काम गर्ने प्रोत्साहित हुनेछन् भने जिम्मेवारी पूरा नगर्ने माथि आवश्यक कारबाही हुनेछ ।”

कार्यक्रममा गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरूले वार्षिक कार्यप्रगति, सेवा प्रवाह, स्वास्थ्य सूचकहरूको अवस्था, चुनौती तथा आगामी कार्ययोजनासहितका प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि विस्तृत छलफल गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने रणनीति तय गरिएको थियो ।

स्वास्थ्य शाखा प्रमुख बुद्धिराज न्यौपानेका अनुसार मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, रोग नियन्त्रण, सुरक्षित प्रसूति तथा समुदायमा आधारित स्वास्थ्य सेवाको अवस्थाबारे पनि समीक्षा गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य संस्थाका प्रमुख तथा जनप्रतिनिधि कर्मचारीहरूको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर