
मध्यान्ह राष्ट्रिय दैनिकले आफ्नो प्रकाशन यात्राका २३ वर्ष सफलतापूर्वक पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । यस गौरवपूर्ण अवसरमा हामी पाठकसँग खुसी साट्न चाहन्छौं । यो सफलता मध्यान्हको मात्र होइन, हामीलाई निरन्तर विश्वास गर्ने आमपाठक, विज्ञापनदाता, विक्रेता, शुभेच्छुक र समर्पित सहकर्मीहरूको साझा योगदानको प्रतिफल हो । वार्षिकोत्सव विशेष प्रकाशन परिवर्तनमार्फत हामी यो खुसी बाँड्न चाहन्छौं ।
२ माघ २०५९ मा प्रकाशन आरम्भ गर्दा मध्यान्हले बहुलवादी समाज, बहुदलीय लोकतन्त्र, संविधानवाद, वाक् तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई अंगालेर अघि बढ्ने प्रण गरेको थियो । आमनागरिकलाई सत्य, तथ्य र निष्पक्ष समाचारसँगै सही विचार र उपयोगी सूचना दिनुलाई हामीले आफ्नो कर्तव्य मानेका छौं । पत्रकारिताको मूल मर्म र उद्देश्य पनि यही हो । त्यो दायित्वबाट हामी अहिले पनि किञ्चित डगमगाएका छैनौं ।
व्यावसायिक पत्रकारितामा बितेको २३ वर्षे यात्रा हाम्रा लागि पक्कै पनि सजिलो थिएन । पत्रकारितामाथि निरन्तरका आक्रमण र हस्तक्षेपले सत्य लेख्नु जोखिमपूर्ण बन्यो । यस्ता अनेक आरोह–अवरोह र प्रतिकूल परिस्थितिमा पनि मध्यान्हले तथ्यबाट नडगमगाई निष्पक्ष र जिम्मेवार पत्रकारितालाई निरन्तरता दिँदै आएको छ । राष्ट्रिय सार्वभौमसत्ता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्यहरू कमजोर पार्ने प्रयासविरुद्ध खबरदारी गर्नु हाम्रो दायित्व हो भन्नेमा हामी स्पष्ट रह्यौं ।
यसबीचमा मुलुकले विनाशकारी भूकम्प, नाकाबन्दी, विश्वव्यापी कोभिड महामारी, आर्थिक मन्दी र पछिल्लो जेनजी आन्दोलनपछिको आर्थिक संकट बेहोरेको छ । यसको प्रत्यक्ष असर पत्रिका सञ्चालनमा परेको छ । यस्ता कठिन परिस्थितिमा पनि मध्यान्ह अविचलित भई अघि बढिरहेको छ । पछिल्लो समय पत्रकारितामा सूचनाको अत्यधिक बाढी, सामाजिक सञ्जालको प्रभाव, गलत र भ्रामक सूचनाको फैलावटजस्ता नयाँ चुनौती थपिएका छन् । सही र गलत छुट्याएर समाजलाई दिशाबोध गराउनु पनि हामी सबैको दायित्व बनेको छ । सोही आवश्यकतालाई आत्मसात् गर्दै हामीले मध्यान्हको अनलाइन संस्करण र युट्युब च्यानल मध्यान्ह टिभीलाई प्रभावकारी बनाउने प्रयत्नमा छौं ।
यस लामो यात्रामा निरन्तर साथ सहयोग, विश्वास र हौसला प्रदान गर्नुहुने सम्पूर्ण पाठक, विज्ञापनदाता, विक्रेता तथा शुभेच्छुकहरूप्रति हामी आभारी छौं । तपाईंहरूको विश्वास नै हाम्रो सबैभन्दा ठुलो पुँजी हो ।
हार्दिक धन्यवादसहित ।
सीतादेवी श्रेष्ठ
प्रकाशक