
रौतहट : रौतहटको गरुडा नगरपालिका–८ स्थित बिर्ता चोकबाट प्रहरीले ठुलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बिर्ताको संयुक्त टोलीले नियमित चेकिङका क्रममा तनहुँका १७ वर्षीय युवकलाई शनिबार बिहान लागुऔषधसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–३ कार्की डाँडा निवासी प्रदीप बहादुर कामीका १७ वर्षीय छोरा नविन बि.क. रहेका छन्।
प्रहरीका अनुसार शुक्रबार गौरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ४७०४ नम्बरको यात्रुवाहक बसलाई बिर्ता चोकमा रोकेर जाँच गर्दा बि.क.को साथबाट लागुऔषध बरामद भएको हो।
निजले बोकेको झोलाभित्र कालो रङ्गको प्लाष्टिकमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रमेथोजिन ४९ एम्पुल, सेरिज्याक ४९ एम्पुल र नुफिन ४९ एम्पुल गरी कुल १४७ एम्पुल नियन्त्रित लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित नियन्त्रणमा लिइएका नविन बि.क.लाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी चौकी बिर्ताले जनाए । सीमावर्ती क्षेत्रबाट हुने लागुऔषधको अवैध ओसारपसार नियन्त्रण गर्न रौतहट प्रहरीले पछिल्लो समय चेकिङ र निगरानीलाई कडाइ गर्दै लगेको छ।