
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य देखिएको छ । निर्वाचन आयोगका अनुसार ३ हजार ३ सय ८७ उम्मेदवारमध्ये एक चौथाइभन्दा धेरै अर्थात् १ हजार १ सय ८९ उम्मेदवार दलविहीन स्वतन्त्र छन् । यसले नेपाली राजनीतिप्रति आकर्षण बढेको देखाएको छ । स्वतन्त्र उम्मेदवार बढ्नुको अर्थ राजनीतिमा नयाँ व्यक्तिको प्रवेश हो । केही समयअघिसम्म राजनीतिलाई फोहोरी खेल भन्ने र चासो नराख्ने युवा पुस्तामा अहिले चासो बढेको छ । स्वतन्त्र उम्मेदवारी दिनेमध्ये ठुलो संख्यामा युवा छन् । यसले राष्ट्रिय राजनीतिमा युवा पुस्ताको आशा र आकर्षण बढेको पुष्टि गर्छ ।
लामो समयदेखि राजनीति भन्नासाथ केही दल र केही नेता मात्र बुझाउँथ्यो । उही नेतृत्व, उही शैली र उही वाचा दोहोरिँदै आएका थिए । यसले नागरिकमा निराशा बढाएको थियो । दलभित्रै नयाँको खोजी हुँदै आए पनि त्यसले सार्थकता पाएको थिएन । त्यसैले मुख्य दल र नेता निर्विकल्पजस्तो बनेका थिए । तर गत निर्वाचनदेखि नै वैकल्पिक शक्तिको खोजी हुन थालेको देखिन्छ । जेनजी आन्दोलनपछि नयाँ पुस्ताको आकर्षण राजनीतिमा बढेको देखिन्छ । यसले आमनागरिकमा आशा मात्र जगाएको छैन, निर्वाचनबाटै आफूले चाहेको परिवर्तन खोज्नेहरूका लागि पनि सहज भएको छ । यस निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेमध्ये केही वैकल्पिक सोच बोकेका छन् । केही पार्टीभित्र टिकट नपाएपछि मैदानमा उत्रिएका बागी उम्मेदवार छन् । कारण जे भए पनि स्वतन्त्र उम्मेदवारको उपस्थितिले राजनीतिलाई चलायमान बनाएको छ । नेताका आफूखुसी निर्णय र अति दलीयकरणविरुद्ध बलियोसँग आवाज उठेको छ ।
राजनीतिमा नयाँ अनुहार र स्वतन्त्र उम्मेदवारीले राजनीतिमा नयाँ सम्भावनाको ढोका पनि खोलेको छ । पार्टीको टिकटबिनै जनतामाझ जान सकिन्छ भन्ने विश्वास बढेको देखिन्छ । यसले चुनावी प्रतिस्पर्धासँगै बहसलाई फराकिलो बनाएको छ । मतदाताका लागि विकल्प थपिएको छ । स्वतन्त्र उम्मेदवारले जितून् वा नजितून् तर उनीहरूको उपस्थितिले लोकतान्त्रिक अभ्यासलाई समृद्ध बनाएको छ । पुराना दल र नेतृत्वलाई पुनः एकपटक आत्मसमीक्षा गर्न बाध्य बनाएको छ । बहुदलीय लोकतन्त्रमा स्वतन्त्र उम्मेदवारले न सरकार बनाउन सक्छ न त बलियो प्रतिपक्ष नै बन्न सक्छ । एकपटक चुनाव लड्दैमा उनीहरू लामो समय राजनीतिमा रहलान् भन्न पनि सकिन्न । तर उनीहरूले उठाएको प्रश्न महत्वपूर्ण छ । यसले हाम्रो लोकतान्त्रिक अभ्यासलाई परिपक्व बनाउँदै लगेको छ । त्यसैले राजनीतिप्रति बढेको यो आकर्षणलाई क्षणिक नबनाउनुहुँदैन । सुध्रिएको राजनीतिबाट पनि आमनागरिकले चाहेजस्तो देश रूपान्तरण सम्भव छ ।