
मुलुकको सबैभन्दा ठुलो वामपन्थी दल नेकपा एमालेको ११औं महाधिवेशन सकिएको छ । जेनजी आन्दोलनपछि पुराना दल दबाबमा परेका बेला एमालेले अर्ली महाधिवेशन गरेर नयाँ राजनीतिक सन्देश दिएको छ । चौतर्फी आलोचना र २३ भदौको मानवीय क्षतिको आरोपबीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्षमा लोकप्रिय मतसहित पुनः निर्वाचित भएका छन् । यस महाधिवेशनले एकातर्फ एमाले अझै कमजोर भइसकेको छैन भन्ने सन्देश दिएको छ भने आन्तरिक लोकतन्त्रमा सुधार गरेको छ ।
महाधिवेशनबाट एमालेले पुराना दलप्रतिको जनआकर्षण कमी भएको हुन सक्छ, पुरै सकिएको होइन भन्ने सन्देश प्रवाह गरेको छ । एमालेले पछिल्ला तीन महिनामा देशभर जनपरिचालन गर्यो । वडादेखि राजधानीसम्म पार्टी पंक्ति सडकमा उत्रियो । भक्तपुरको सल्लाघारीको विशाल सभाले एमालेको संगठन अझै सशक्त छ भन्ने देखायो पनि । सँगै, अध्यक्ष ओलीले एमालेमा आफ्नो विकल्प छैन भन्ने सन्देश दिएका छन् । दलबाहिर जति आलोचना भए पनि पार्टीभित्र ओली लोकप्रिय रहेको अध्यक्षमा करिब ७५ प्रतिशत मतसहित निर्वाचित हुनुले पनि पुष्टि गरेको छ । महाधिवेशनबाट एमालेले केही सुध्रिएको देखाउन खोजेको छ । खासगरी, केन्द्रीय कमिटीमा युवा प्रतिनिधित्व बढाइएको छ । केन्द्रीय कमिटीमा युवा प्रतिनिधि र अनिवार्य कोटाले एमाले नयाँ पुस्ताप्रति पूर्ण बेवास्ता छैन भन्ने सन्देश दिएको छ । जेनजी आक्रोशका बीच यो कदम अर्थपूर्ण देखिन्छ । अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । साथै, १९ सदस्यीय पदाधिकारीमा पनि आठ नयाँ नेताहरू प्रवेश गरेका छन् । भलै, महिला, दलित र मधेसको प्रतिनिधित्व नाजुक छ ।
भृकुटीमण्डप महाधिवेशनमार्फत एमाले पुनः आन्तरिक लोकतन्त्रको अभ्यासमा फर्किएको छ । १०औं महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्न नदिइएको भन्दै पार्टीभित्र चर्को आलोचना हुँदै आएको थियो । यसपटक एमाले आठौं र नवौं महाधिवेशनकै शैलीमा प्रतिस्पर्धाबाट नेतृत्व चयन गरेको छ । यसले अध्यक्ष ओलीको अलोकतान्त्रिक छवि सुधारमा समेत योगदान गरेको छ । सँगै, अल्पमत पक्षलाई मिलाएर लैजानुपर्ने चुनौती एमालेको नवनिर्वाचित नेतृत्वमाथि छ । पदाधिकारी तहमा ओली वर्चस्व भए पनि इतरसमूहलाई बेवास्ता गर्न मिल्ने अवस्था छैन । शपथग्रहण समारोहमा अनुपस्थित भएर ईश्वर पोखरेलले अन्तरसंघर्ष कायमै रहेको सन्देश दिइसकेका छन् । समन्वय कलामा कमजोर ओलीले अल्पमतलाई कसरी मिलाएर लैजान्छन् त्यो हेर्न भने बाँकी नै छ । ११औं महाधिवेशनमार्फत एमालेले देखाएको शक्तिमा बदलिँदो राजनीतिक चेतनाको तालमेल मिलाउन नसके यो शक्ति धेरै दिन टिक्न भने मुस्किल हुनेछ ।