२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

मदेइरा घुम्ती शिविरबाट एक सय नेपालीले लिए सेवा, १८ लाख राजस्व संकलन

Nada
भरत प्रधान
२०८२ मंसिर २३ गते १८:०५
Shares
मदेइरा घुम्ती शिविरबाट एक सय नेपालीले लिए सेवा, १८ लाख राजस्व संकलन

लिस्बन : पोर्चुगलको सामुद्रिक टापु ‘मदेइरा’मा सञ्चालित घुम्ती शिविरबाट एक सय नेपालीले सेवा लिएका छन् ।

ncell

लिस्बनस्थित नेपाली दूतावासको टोलीले मदेइरा आइल्यान्डको फुन्चालमा सञ्चालन गरेको राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण 'कन्सुलर' सम्बन्धी दुईदिने घुम्ती शिविरबाट एक सय नेपालीले सेवा लिएका हुन् ।

घुम्ती सेवाबाट १५ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) सहित अन्य कागजात प्रमाणीकरण, ८१ जनाको राहदानी आवेदन र ४ जनाको राहदानी वितरण गरी कुल एक सय सेवाग्राही नेपालीले सेवा लिएको दूतावासका प्रथम सचिव रामबाबु नेपालले जानकारी दिए ।

उनका अनुसार शिविरबाट ७५ जनाको राहदानी नवीकरण, २ जनाको हराएको राहदानी र ४ बालबालिकाको नयाँ राहदानी गरी कुल ८१ जनाको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन संकलन गरिएको छ । 

शिविरबाट करिब ११ हजार युरो अर्थात् १८ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको नेपालले बताए ।

शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन भएको शिविरमा राहदानीको म्याद सकिएका, राहदानीको म्याद ६ महिना भन्दा कम भएका, क्षति भएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि आवेदन संकलन गरिएको थियो । यस्तै, तयार भएको राहदानी वितरण, प्रहरी रिपोर्ट लगायतका अन्य कागजात प्रमाणीकरण तथा अधिकृत वारेसनामा प्रमाणीकरणलगायतका 'कन्सुलर' सेवा प्रदान गरिएको थियो । दूतावासले मदेइरा टापुमा पहिलोपटक घुम्ती शिविर सञ्चालन गरेको हो । यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको फारो सहरमा घुम्ती शिविर सञ्चालन गरेर दुई सय नेपालीलाई सेवा दिएको थियो।

राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका मदेइरावासी नेपालीहरुको सहजताका लागि दूतावासको कार्ययोजना अनुरुप घुम्ती शिविरको आयोजना गरेर सेवा प्रदान गरिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले बताए । मदेइरामै दूतावासको सेवा पाउँदा आफूहरुलाई सहज भएको भन्दै सेवाग्राहीहरुले घुम्ती सेवालाई निरन्तरता दिन आग्रह गरेको उनले बताए । दूतावासले पोर्तो सहितका अन्य क्षेत्रमा पनि घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरिरहेको पौडेलले जानकारी दिए ।

uae

सम्बन्धित खबर