२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको नेतृत्वमा फुर्वा निर्विरोध

Nada
तिलु शर्मा पौडेल
२०८२ मंसिर १३ गते २०:४२
Shares
नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको नेतृत्वमा फुर्वा निर्विरोध

दोहा कतार : नेपाल तामाङ घेदुङको पहिलो प्रवास शाखा नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको चौथो ऐतिहासिक अधिवेशन खुल्ला र बन्द गरी दुई चरणमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्रवास कार्यसमितिका अध्यक्ष कुमारी बेली गोले तामाङ (सबिता) को सभाध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो  ।

ncell

एकसय आठ दीप प्रज्वलनसहित उद्घाटन गरिएको अधिवेशनको बन्द सत्रबाट फुर्बा ग्याबा तामाङ (सिन्धुपाल्चोक) को अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको सह–अध्यक्ष दिल कुमार स्याङबो तामाङ (सोलुखुम्बु), वरिष्ठ उपाध्यक्ष बुद्ध रुम्बा तामाङ (नुवाकोट), उपाध्यक्षद्वय क्रमशः टिका घिसिङ तामाङ (धनकुटा) र सुर्जे  गोङ्बो  तामाङ (नुवाकोट), महिला उपाध्यक्ष सुनिता घिसिङ तामाङ (रामेछाप), महासचिव राम बहादुर पाख्रिन तामाङ (सिन्धुली), उप–महासचिव विनय बम्जन तामाङ (सिन्धुली), सचिव पिपलाल मोक्तान तामाङ (रामेछाप), महिला सचिव सीता लक्ष्मी घिसिङ तामाङ (दोलखा), कोषाध्यक्ष  शंकराम तामाङ (धादिङ), सह–कोषाध्यक्ष प्रेम तामाङ (नुवाकोट) रहेका छन् । 

नयाँ कार्यसमिति सदस्यहरूमा शिखा थोकर तामाङ (रसुवा), सुस्मिता स्याङबो (नुवाकोट), सपना घलान तामाङ (बारा), मृगलाल गोले तामाङ (सिन्धुपाल्चोक), राम ब्लोन तामाङ (गोर्खा), लक्ष्मण ब्लोन तामाङ (गोर्खा), माया दोङ तामाङ (काभ्रे), अलिक बोम्जन तामाङ (ललितपुर), राजु दोङ तामाङ (नुवाकोट), मनकुमारी तामाङ (काठमाडौं) रहेका छन् । 
त्यस्तै घेदुङ प्रवास कार्यसमिति मातहत रहेका भातृ संगठनहरू नेपाल तामाङ ताम्बा, लामा, संस्कृति, युवा, महिला घेदुङ प्रवास कार्यसमिति कतारका अध्यक्षहरू क्रमशः लाल बहादुर गोले तामाङ, छेसाङ लामा, सानो बाबु तामाङ, सन्दीप तामाङ र फुलमाया थिङ्ग तामाङ पदेन सदस्य रहेका छन् । 

निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक दीपेन्द्र घलेले पद तथा गोपनीयताको मातृभाषामा शपथ ग्रहण गराएका थिए ।   

संघीय सदस्य बिनेश कुमार तामाङको विशेष आतिथ्यता रहेको अधिवेशनमा कतारमा स्थापित विभिन्न वैचारिक, सामुदायिक, प्रदेश र जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राख्दै तामाङ समुदायभित्र एकताको आवश्यकता रहेको औँल्याए । वक्ताहरूले आदिवासी जनजातिभित्र पनि एकता पहिलो अपरिहार्यता औँल्याउँदै समाजमा मिलेर अगाडी बढ्नुपर्ने बताए । वक्ताहरूले घेदुङनै नेपाल सरकारले मान्यता दिएको एक मात्र संस्था रहेको हुँदा बजारमा देखिएका अन्य संस्थालाई वैधानिक मान्न नसकिने धारणा समेत राखेका थिए ।

एनआरएनए एनसीसी कतारका उपाध्यक्ष सन्तोष पौडेलले कतारमा कोही श्रमिक समस्यामा पर्दा त्यसको निराकरण गर्ने जिम्मेवारी दूतावासको रहेको हुँदा उसलाई जिम्मेवार बनाउन कतारका संघसंस्थाले पहल गर्नुपर्ने बताए । 

उनले कतारका संघसंस्थाका जिम्मेवारी व्यक्तिहरूले पीडित श्रमिकलाई दूतावास सम्म लैजान समन्वय गर्नुपर्ने र बाँकी सबै जिम्मेवारी दूतावासको रहेको धारणा राखे । सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानमा बढ्दो विकृतिलाई लक्षित गर्दै पौडेलले ‘मैले गल्ती गर्दा सन्तोषले गरेको नभइ नेपालीले गरेको’ हुने हँुदा संयमित हुन आवश्यक रहेको बताए ।

प्रमुख अतिथि श्रेष्ठले तामाङहरूको एकता नारामा मात्र सीमित भएको जस्तो महसुस आफूले गरेको बताउँदै राजनीतिक झन्डा बोकेर तामाङहरूलाई नटुक्राउनु सरोकारवाला जिम्मेवार व्यक्तिहरूलाई आग्रह गरे । कतारमा रहेका तामाङहरूबीचको एकताका लागि जनजाति महासंघ कतारले आफ्नो स्थानबाट पहल गर्ने बताउँदै सँगसँगै हातेमालो गर्ने वातावरण घेदुङको अधिवेशनले सिर्जना गरेको आफूले महसुस गरेको र घेदुङको इतिहासमा पहिलो पटक जनजाति महासंघलाई प्रमुख अतिथिका लागि सम्मानसहित स्थान प्रदान गरेकोमा आयोजकप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठलाई तामाङ टोपी,तामाङ ताकी दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने घेदुङ प्रवास कार्यसमिति कतारका संस्थापक अध्यक्ष एक्का प्रसाद तामाङ (योगेन्द्र) र संरक्षक तथा संघीय सदस्य बिनेश कुमार तामाङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

अधिवेशनमार्फत कार्यकाल भरी आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउने पत्रकार, सहयोगीहरू, सहकार्य गरिएका संघसंस्थाहरू,आदिवासी जनजातिका विभिन्न मातृसंस्थाहरु, कलाकारहरू लगायतलाई सम्मान गरिएको थियो ।

सह–अध्यक्ष वाङ्जु लामाले स्वागत गरेको अधिवेशनमा साङ–सेरकेम ताम्बा गीतसहित सामूहिक गीतद्वारा स्वागत गरिएको थियो ।

कार्यक्रम अवधिभर कलाकारहरूले, म्हेन्दोमाया, सेलो विभिन्न भाषा भाषीका गीतमा विभिन्न सागितिक प्रस्तुति दिएका थिए ।

तमु प्ये ल्हु संघ कतारले आफ्नो परम्परा अनुसार कोसेली उपहार प्रदान गरेको थियो । महासचिव रामबहादुर पाख्रिन र सचिव विनय बोम्जन तामाङले मिलेर सहजीकरण गरेको खुल्ला सत्रको समापन गर्दै सभाध्यक्ष तामाङले कार्यकालमा साथ सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेकी थिइन् । उनले नयाँ कार्यसमितिले दोहामा एकताको माला बुन्दै अगाडि बढ्ने विश्वास व्यक्त गरिन् । उनले आफ्नो कार्यकालको भन्दा नयाँ कार्यसमितिले उत्कृष्ट कार्यसम्पादन गर्न सकोस् भन्ने शुभेच्छासहित आफू हरदम साथ सहयोग गर्न प्रतिबद्ध रहेको बताइन् । सेप्टेम्बर एक २०२३ मा सम्पन्न तेस्रो अधिवेशनबाट विकास स्याङ्तान तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएपनि विकास करिब एक वर्ष पहिले कतार बसाइँलाई अनौपचारिक रूपमा बिट मार्दै नेपाल फर्किएपछि घेदुङको नेतृत्व सबिताको काँधमा आएको थियो । 

यस्तै अधिवेशनलाई लक्षित गर्दै कार्यसमितिले सञ्चालन गरेको भाग्यशाली चिट्ठाको नतिजा प्रत्यक्ष रूपमा सार्वजनिक गरिएको छ । 

हलमा उपस्थित सबैका माझ सार्वजनिक गरिएको चिट्ठा अनुसार पहिलो पुरस्कार ल्यापटप चिट्ठा नम्बर ए १९३५ ले, दोस्रो पुरस्कार स्पिकर चिट्ठा नम्बर ए ५७९ ले, तेस्रो पुरस्कार पियानो चिट्ठा नम्बर ए ५३० ले जितेका छन् । त्यस्तै चौथो पुरस्कार स्मार्टफोन ए ५४७ ले जितेका छन् ।  त्यस्तै सान्त्वना ३ वटा घडीहरू क्रमशः चिट्ठा नम्बर ए १२२, ए १८४१,  ए ३०० ले पुरस्कार जितेका छन् ।

uae

सम्बन्धित खबर