२०८२ मंसिर ७ गते आइतवार / Nov 23 , 2025 , Sunday
२०८२ मंसिर ७ गते आइतवार
Ads

एनआरएनएको फुटले आफ्नै मुद्दा र लगानीका विषय ओझेलमा परे : आचार्य

shivam cement
तिलु शर्मा पौडेल
२०८२ मंसिर ६ गते २२:१२
Shares
एनआरएनएको फुटले आफ्नै मुद्दा र लगानीका विषय ओझेलमा परे : आचार्य

दोहा कतार : एनआरएनए आइसीसीका पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनभित्र आपसी लडाइँ छाडेर लगानी भित्र्याउनु पर्ने बेला आएको बताएका छन् । 

एनआरएनभित्रको लडाइँले कुनैपनि मुद्दाको किनारा नलाग्ने बताउँदै एकताको विकल्प नरहेको उनको भनाइ छ । एनआरएनए एनसीसी कतारले आयोजना गरेको समसामयिक विषय, सामाजिक सुरक्षा कोष र लगानी केन्द्रित भेटघाट कार्यक्रमका प्रमुख अतिथिका रूपमा रहेका आचार्यले एनआरएनएले उठाएका कतिपय मुद्दाहरू स्थापित भएपनि दीर्घकालीन रूपमा सम्बोधन नभएको र एनआरएनएको फुटले आफ्नै मुद्दा र लगानीका विषय ओझेलमा पारेको बताए । 

आचार्यले सामाजिक सुरक्षा कोषमा करिब २६ लाख मानिस जोडिएको र कतारबाट मात्रै करिब ४ लाख श्रमिक जोडिएको स्पष्ट पारे । 

आचार्यले एनआरएनएले श्रमिककै लागि उठाएका मुद्दाभित्रका कतिपय माग सम्बोधन हुँदा पनि अझै पूर्ण नभएको दाबी गरे । 

सामाजिक सुरक्षा कोषमा अझै काम बाँकी छ, भने गैरआवासीयले नागरिकता लिएपनि त्यसको कुनै लाभ या प्रभावकारिता नदेखिएको उनको भनाइ छ । सामाजिक सुरक्षा कोषमा ९५ अरब भन्दा बढी रकम जम्मा भएको र त्यो रकम श्रमिककै हितमा सदुपयोग हुन नसकेको उनले बताए । उनले एनआरएनएमा देखिएको फुटलाई चिरेर एकता हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले नेपालमा लगानी गर्ने उत्कृष्ट समय रहेको बताए । उनले  नेपालमा आइटी, कृषि, हाइड्रोपावर र पर्यटन क्षेत्रमा लगानी गर्न सकिने बताए । त्यस्तै केसी ग्रुपका अध्यक्ष किरण केसीले हाइड्रोको लगानी सुरक्षित रहेको धारणा राख्दै नेपालसँग एक लाख मेगावाट बिजुली उत्पादन गर्ने क्षमता रहेको हुँदा लगानीको अवसर समेत प्रशस्त रहेको बताए । 

कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा कतारका लागि नेपाल सरकारका पर्यटन दूत तथा एनआरएनए अभियन्ता राजेन्द्र कुमार शर्मा (आरके)ले युरोप तथा विकसित राष्ट्रका एनआरएनएहरूले मध्यपूर्वका श्रमिकहरूलाई सामूहिक लगानीमा समावेश गराउने कुरामा आफूले विश्वास नगर्ने स्पष्ट पारे । 

उनले  एनआरएनएले स्थापना गरेको १० अर्बको फण्डमा मध्यपूर्वका श्रमिकको प्रतिनिधित्व नभएकोप्रति आचार्यकै अगाडि असन्तुष्टि पोखे ।

शर्माले एनआरएनएमा राजनीतिक रोटी सेकिने, तर श्रमिकका मुद्दाले ठाउँ नपाउने गरेको स्पष्ट पार्दै एनआरएनएले सामाजिक सुरक्षा कोष, नागरिकता र आइपीओमा १० प्रतिशत कोटाका मुद्दामा सफल देखिए पनि पूर्ण नभएको बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले एनआरएनएको फुटलाई एकतामा लैजानुपर्नेसहित लगानीका बारेमा बढी समय खर्चँदै सुरक्षित भविष्यका लागि लगानीनै गर्नुपर्ने धारणा राखेका थिए । 

एनसीसी कतारका प्रथम उपाध्यक्ष रबिन मगरले  स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभाध्यक्ष तथा एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले एनआरएनमा एकताको विकल्प नरहेको बताए । 

उनले आइसीसीमा एकता हुने बित्तिकै कतारमा एकता हुने विश्वास व्यक्त गर्दै समाजको एकताका खातिर आफू बाधक नहुने स्पष्ट पारे । 

कार्यक्रममा एनआरएनएका विभिन्न अभियन्ता, व्यवसायी समाजसेवीसहित कतारमा स्थापित संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममार्फत प्रमुख अतिथि आचार्यलाई सम्मान समेत गरिएको थियो भने एनसीसीका महासचिव विवेक पुलामी मगरले कार्यक्रमको सहजीकरण गरेका थिए ।

ADV

सम्बन्धित खबर