
विवाह लगनको समय सुरु भएसँगै टेलरिङ व्यवसायमा कामको चाप बढेको छ । लगनको बेलामा बेहुलादेखि जन्तीले सुट पाइन्ट लगाउने हुँदा टेलरिङ व्यवसाय यतिबेला निकै राम्रोसँग चलिरहेको छ । युवा पुस्ता विदेश पलायन भइरहँदा सीप हुनेका लागि भने टेलरिङ व्यवसाय राम्रो बन्दै भएको छ । तर, आयातित रेडिमेड कपडाको कारण सो व्यवसायमा केही चुनौती भने थपिएको व्यवसायी बताउँछन् । प्रस्तुत छ, यसै सन्दर्भका टेलरिङ व्यवसाय सुटमालाका सिइओ राज कार्कीसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी ।
टेलरिङ व्यवसायमा सिजनको सुरु भएको छ, अहिले व्यवसायको अवस्था कस्तो छ ?
यो व्यवसाय सिजन अफसिजन भन्दा पनि सदाबहार जस्तै हो । तर, विवाहको सिजनमा भने व्यस्तता थप बढ्ने गरेको छ । पछिल्लो समय धेरै उपभोक्ताले खर्चमा खटौती गरेको पाइन्छ । केही वर्ष यताको व्यापारको अवस्था हेर्ने हो भने ग्राहकले पहिलाको जस्तो मन खुलेर खरिद गर्ने परम्परा कम भएको जस्तो देखिन्छ ।
तर, अहिले विवाहदेखि भोजसम्म, विभिन्न संस्थागत कार्यक्रम, मिटिङ, भेटवार्तामा समेत सुटपाइन्ट लगाएर जाने संस्कारको विकास हुँदा सुटको व्यवसाय राम्रोे पनि हुँदै गएको छ । यस्तै, सुटमालाले सबैको पहुँच पु¥याउने लक्ष्यको साथ भिआइपी व्यक्तिदेखि सामान्य नागरिकसमेतले किन्न सक्ने किसिमको पहिरन बनाउने काम गर्दै आएको छ । सोही तरिकाको कारण हामी व्यवसायको साथै सम्वन्ध बिस्तार गर्न समेत सफल भएका छौं ।
ग्राहक पोशाकका लागि सुटमालामा नै किन जाने ?
हामीसँग भएका दक्ष जनशक्तिले बनाएका आकर्षक डिजाइनले गर्दा नै सुटमाला उपभोक्ताको प्रुमख रोजाइमा पर्ने गरेको छ । गुणस्तरीय कपडा र सिलाईको कारण एक पटक हामीसँग आउनु भएका ग्राहक पटक–पटक आउने गर्नुभएको छ ।
हामीले दिने सेवा र विश्वासले गर्दा नै हामी नेपालको सफल टेलरिङ व्यवसायीको रूपमा परिचित छौँ । हामीले हाम्रो तर्फबाट कसरी सेवा गर्न सकिन्छ, कसरी सहजता गर्न सकिन्छ भनेर अहिले फेमिली प्याकेजदेखि साधारण मूल्यको कम्बो सेटसम्मको अफर समेत दिइरहेको छौँ । ग्राहकको आवश्यकता र ग्राहकको रोजाईमा पर्नेगरी सुटमालाले अफरसहितको सेवा दिने गरेको छ ।
हामी व्यवसाय मात्र हैन बजारमा नयाँ डिजाइनसमेत भित्राउने टेलरिङ व्यवसायको रूपमा अगाडि छौँ । हामीले सर्टिङ सुटिङको क्षेत्रमा ग्राहकको लागि विश्वास बढाउने पहिरनमा विशेष ध्यान दिन्छौँ । सुनमा २२ क्यारेट र २४ क्यारेटको रेट फरक भएजस्तै कपडाको पनि गुणस्तरअनुसार मूल्य फरक–फरक पर्छ । कस्तो ग्राहकलाई कस्तो दररेटमा चाहिन्छ यसमा हामीले काम गर्ने गरेका छौँ ।
तयारी कपडाको आयातले यो व्यवसायलाई कस्तो असर गरेको छ ?
सिलाईको कपडा लगाउने व्यक्तिको व्यक्तित्व नै फरक देखिन्छ । सिलाईको कपडाको महत्व बुझ्न सक्ने हो भने रेडिमेट भन्दा बडी फिटिङ राम्रो देखिन्छ । रेडिमेड गार्मेन्टको फिनिसिङ र टेलरिङको फिनिसिङ राम्रो देखिन्छ ।
रेडिमेड कपडा भनेको एकैपटकमा लाखौँ लाख थानमा उत्पादन हुन्छ । सो कपडा सबैको साइज अनुसार मिल्दैन । अर्को कपडाको गुणस्तरको कुरा पनि हुन्छ । रेडिमेड भन्ने बित्तिकै फेरि नेपालमा सस्ता कपडाहरू बढी आयात भइरहेको अवस्था छ । स्वदेश मै सिलाइको कपडामा समस्यामा आयो भने हामीलाई गुनासो गर्न सकिन्छ । तर, महँगो पैसा तिरेर रेडिमेट किनेपनि राम्रो परेन भने के गर्ने ?
हाम्रोमा हेन्डमेडको महत्व निकै कम छ तर, युरोप, अमेरिकातिर हेन्डमेडको कपडा लगाउनेको व्यक्तित्व नै फरक पर्छ । रेडिमेड भनेको सर्वसाधारण सबैले प्रयोग गर्ने र सिलाईको कपडा चाहिँ एउटा स्तरको मान्छेले मात्र प्रयोग गर्ने संस्कार बाहिरी मुलुकमा देखिन्छ । तर, हाम्रोमा चाहिँ ठ्याक्कै उल्टो छ ।
फेसन डिजाइन क्षेत्रमा सुटमालाले कसरी काम गरेको छ ?
सुटमालाले उत्पादन गर्ने सुटहरू आफैँमा क्लासिक छन् । अहिलेको इन्टरनेसनल बजारमा सुट फेसन र स्टाइलिस बन्दै गएको छ । त्यसैले गर्दा हामी पनि अपडेट भइरहनु पर्छ । यो व्यवसायमा अवसर र चुनौती उस्तै छ । हामीले जति कलात्मक, स्टाइलिस बनाउन सक्यौँ त्यति हाम्रो कलाको चर्चा हुने गर्दछ । त्यसैले गर्दा हामी सधै अपडेट भएको फेसमा चासो लिने गरेका छौँ ।
सिलाई गर्दा व्यक्तिलाई सुहाउँछ कि सुहाउँदैन भनेर हामी ग्राहकलाई सल्लाह समेत दिने गरेका छौं । हामीसँग आउने ग्राहकलाई परिवारको सदस्यको रूपमा नै गाइड पनि गर्ने गरेका छौँ ।
सिलाईका कपडालाई प्रवर्धन गर्नका लागि अब के गर्नुपर्छ ?
सबैभन्दा ठूलो कुरा त कुनै पनि मुलुकमा अथवा कुनै पनि क्षेत्रमा काम गर्नको लागि त्यसमा सरकारको ठूलो हात हुन्छ । प्राइभेट सेक्टरले मात्र गर्न सक्दैन । सरकारले चाहिँ यसलाई अलिकति ध्यान दिएर एउटा ठूलो अभियान चलाउनु पर्ने आवश्यकता देखिएको छ ।
विश्वमा सीपको काम गर्ने मान्छेको महत्व बढ्दो छ । विदेशमा लुगा सिलाउन जानेले त्यहाँ पैसा राम्रो कमाउने गरेका छन् । त्यसैले गर्दा नेपालले यो व्यवसायलाई प्रवर्धन गर्ने र निर्यात गर्न सक्नेगरी वातावरण बनाइदिने हो भने राम्रो लाभ नेपालीले लिन सक्छन् ।
स्थानीय तहमा सिलाइ कटाइ तालिम दिने गरिएको सुनिन्छ । त्यसले केही त फाइदा भयो होला तर, त्यो सीप सिक्ने भन्दा पनि यसलाई कसरी फेसनसँग जोड्न सकिन्छ भनेर लाग्नुपर्छ ।
विश्वबजारमा अहिले फेसन अथवा कस्मेटिकमा ठूलो माग भएको अवस्था छ । नेपालमा चाहिँ परम्परागत तरिकाबाट जिविकोपार्जन गर्ने मात्र काम भएको छ । टेलरिङ व्यवसायलाई व्यवसायीकरण गर्न सकिएको छैन । व्यवसायीकरण गर्नको लागि चाहिँ राज्यको र व्यवसायीबीच समन्वय आवश्यक छ । राज्यसँग हातेमालो गरेर काम गर्ने हो भने यो व्यवसायलाई अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ ।